झापा, जेठ ३२ । झापाको मेचीनगर नगरपालिका कार्यालयले गत आर्थिक बर्षमा खरिद गरेको १६ लाख ८० हजार मुल्य बराबरको तारजाली गायब भएको छ । गत बर्ष २० लाख मुल्यमा खरिद गरेको पाँच सय थान तारजाली मध्ये ८० थान तारजाली मात्रै प्रयोगमा आएको र बाँकी चार सय २० थान तारजाली प्रयोगमा पनि नआएको र जिन्सी दाखिला पनि नदेखिएकाले गायब भएको नगरपालिकास्रोतले बताएको छ ।
‘२० लाखको पाँचसय थान तारजाली गत बर्ष खरिद गरेको हो,’ नगरपालिकास्रोत भन्छ, ‘तर अहिले हेर्दा उक्त तारजाली तेतीबेलै जिन्सी दाखिला गरेको देखिएन ।’ नगरपालिकाले खरिद गरेको पाँच सय थान तारजाली मध्ये ८० थान मात्रै विभिन्न स्थानमा प्रयोग भएको रेकर्ड भेटिए पनि बाँकी तारजालीको कुनै रेकर्ड नभेटिएको नगरपालिकास्रोतको दाबी छ ।
नगरपालिकाले खरिद गरेको तारजाली मध्ये केही हराएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले स्वीकार गर्नु भयो । ‘पाँच सय थान तारजाली खरिद गरेको देखिन्छ,’ वहाँले भन्नुभयो, ‘तर कति र काहाँ प्रयोग भयो भन्ने रेकर्ड दुरुस्त भेटिएन ।’
यसैबिच तारजाली गायब भएको बिषयको छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । नगरका प्रशासन शाखाका प्रमुख अनन्तप्रकाश वस्तीको संयोजकत्वमा आन्तरिक लेखा परीक्षक राजनकुमार भेटवाल र एक जना प्राविधिक सदस्य रहेको छानविन समिति गठन गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीले सेतोपत्रलाई बताउनु भयो । छानविन समितिका संयोजक वस्ती नगरपालिकाको जिन्सी शाखाको समेत प्रमुख हुनुहुन्छ ।
‘गतबर्ष खरिद गरेको तारजालीको सबै रेकर्ड कार्यालयमा तत्काल नभेटिएकाले त्यसको खोजी गरेर चुस्तदुरुस्त राख्न छानविन समिति गठन गरेको हो,’ पराजुलीले भन्नुभयो, ‘अनियमितता नै भयो भनेर छानविन समिति गठन गरिएको भन्ने होईन ।’ कार्यालयको व्यवस्थापकीय कुरामा कतै रेकर्ड हराएको होकी भन्ने लागेर छानविन समिति गठन गरिएको पराजुलीले बताउनु भयो ।
गतबर्षको बाँकी रहेको तारजालीको खोजी कार्य अगाडी बढाउँदै यो बर्षको लागि थप ९ लाख बराबरको तारजाली खरिद गर्ने निर्णय भएको पनि पराजुलीले जानकारी दिनु भयो । ‘बर्षातको मौषम शुरु भईसक्यो,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भन्नुभयो, ‘पुरानो खोजी गर्न समय लाग्ला अनि त्यही समयमा नगरबासीको क्षति होला भन्ने लागेर ९ लाख बराबरको तारजाली खरिद प्रक्रिया अगाडी बढाउने निर्णय गरेका छौं ।’