मेचीनगर, जेठ ३१ । असार एक गतेबाट झापाको मेचीनगरमा झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय तुर्केनी स्पोर्टस क्लबको आयोजनामा मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । असार एकदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहनेछ । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल मैदानको स्तरोन्नती गर्ने उद्देश्यका साथ शुरु हुने गइरहेको यस प्रतियोगिता सम्पन्न गर्न करिब दुई लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
प्रथम पुरस्कार नगद २५ हजार र दोस्रो पुरस्कार १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र दिने घोषणा गरेको आयोजकले सहयोगबाट उठेको रकममा खर्च कटाएर बचेको रकमले तुर्केनी खेल मैदान स्तरोन्नती गर्ने लक्ष्य राखेको तुर्केनी स्पोर्टस क्लबका अध्यक्ष रामकुमार लिम्बुले बताउनुभयो । यसैगरी आयोजकले ज्येष्ठ भेट्रान खेलाडी, उत्कृष्ट भेट्रान खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायतको अवार्ड पनि प्रदान गर्नेछ । यससगँसगैँ प्रत्येक खेलमा म्यान अफ द म्याचको अवार्ड समेत व्यवस्था गरिएको खेल संयोजक राजु गुरुङले बताउनुभयो ।
खेल सम्पन्न गर्नका लागि विभिन्न तवरबाट सहयोग मागिरहेको आयोजक संस्थालाई प्रथम पुरस्कारको प्रायोजन काँकरभिट्टा भेट्रान क्लबले गरिदिएको छ भने दोस्रो पुरस्कार मेचीनगर ४ नं वडा कार्यालयले प्रायोजन गरेको छ ।
नयाँ खेलाडी उत्पादन गर्दै खेल क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिता आयोजना गर्ने उद्देश्य भएपनि पछिल्लो समय युवा जगतको भन्दा पनि भेट्रान फुटबल प्रतियोगिता मात्रै आयोजना हुँदै आएको छ । जुन विषयमा खेल क्षेत्रका अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले खेल क्षेत्रमा आवयश्यक बजेट नहुँदा युवा जगत पछि परिरहेको बताउनुभएको छ ।
‘पछिल्लो समय युथ लेवलको भन्दा पनि भेट्रान लेवलको गेमहरु धेरै आयोजना भइरहेका छन्, जसले नयाँ खेलाडी कसरी उत्पादन हुन्छ ? भन्ने प्रश्न पनि जन्माएको छ ।’ महासचिव बस्नेत भन्नुहुन्छ ‘यस विषयमा तिनै तहका सरकारले प्रस्ट योजना बनाएर खेल क्षेत्रलाई प्राथमिकतामा राख्नपर्छ नभए खेल क्षेत्रबाट खेलाडी पलायन हुने अवस्था छ ।’ युवा जगतको प्रतियोगिता नहुनु अनि एकाएक भेट्रान प्रतियोगिता मात्रै आयोजना हुनुले खेलाडी उत्पादन सगँसगैँ खेल क्षेत्रको संवद्र्धनमै प्रश्न उब्जिएको उहाँको भनाई छ ।