संसदको बजेट अधिवेशन चलिरहेको छ । यसै बीच प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भइसकेको छ । मुलुक चरम आर्थिक संकट बाट गुज्रिरहेको छ । आम सर्वसाधारणलाई आफ्नो दैनिकी धान्न धौ धौ परिरहेको छ । सानोतिनो व्यापार व्यवसाय गर्ने व्यावसायीहरू बैंकको किस्ता,साहुहरू सँग लिएको अन्य कर्जाको भारले यति थिचिएका छन् कि त्यो कुराको बोध राजनीति बाहेक अन्य कुनै पेशा व्यवसाय नगरेका राजनैतिक प्राणीहरूलाई पटक्कै छैन ।
संसदको यो अधिवेशनले सर्वसाधारणका दैनन्दिन समस्याहरूलाई केही मल्हमपट्टी लगाउला कि भन्ने आश पनि मरिसकेको छ । चालु अधिवेशनमा नागरिकलाई तत्काल के गर्ने र दीर्घकालीन रूपमा के कसरी राहत प्रदान गर्न सकिन्छ भनेर छलफल हुनुपर्ने आम अपेक्षा थियो । तर निरर्थक राँगा र भैंसीको बहसमा संसद अल्मलिएको छ । पटक पटक संसदमा प्रतिनिधित्व गरिसकेका माननीयहरूको ताल देख्दा संसदीय सभा पद्धतिको अलिकति पनि ज्ञान नभएको देखिन्छ । स्वयं सभामुखको रूलिङ देख्दा लाग्छ संसदीय सभा सञ्चालन सम्बन्धी तालीमको सबैभन्दा बढी आवश्यक सभामुखलाई छ । अपवाद बाहेक अधिकांश सांसदहरू parliamentary procedure को बारेमा अनभिज्ञ छन् । तर तितो यथार्थ के पनि हो भने हामी कहाँ नेता भइसकेपछि त्यसमा पनि सांसद निर्वाचित भइसकेपछि सबै कुरा मैले बुझेको छु भन्ने भ्रम लगभग सबैमा देखिन्छ ।
प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भयो । संसद चलिरहेको अवस्थामा औपचारिक रूपमा प्रधानमन्त्रीले भ्रमण बारे सार्वभौम संसदलाई र संसद मार्फत आम नागरिकलाई जानकारी गराउनु पर्छ, यो एउटा स्वभाविक अनि सामान्य प्रक्रिया हो । प्रधानमन्त्रीले सदनमा भ्रमण बारे जानकारी गराउनु भयो र भन्नुभयो यो भ्रमण अत्यन्तै उपलब्धिमूलक रह्यो । भ्रमण कत्तिको उपलब्धिमूलक रह्यो, त्यसले भविष्यमा नेपाल र नेपालीको लागि के कति सकारात्मक वा नकारात्मक असर पार्छ त्यतातिर नजाउँ ।
मैले उठान गर्न खोजेको विषय संसदीय सभा पद्धतिको मात्र हो । नेपालमा यो मोडलको संसदीय अभ्यास २०४८ सालको निर्वाचित संसद बाट शुरू भएको हो । दुनियाँका धेरै देशहरूमा चलिरहेका संसदीय अभ्यास जस्तै नेपालमा पनि नेपालको संसद मेजर रोबर्टले प्रतिपादन गरेको सिद्धान्त Robert's rules of order अनुसार चलिरहेको छ । मैले व्यक्तिगत रूपमा चिनेका धेरै माननीय सांसदहरूलाई सोध्ने गरेको छु कि तपाईले Robert's rules of order भन्ने पुस्तक अध्ययन गर्नुभएको छ भनेर । आजको मितिसम्म उक्त पुस्तक पढ्ने एकजना पनि सांसद मैले भेटेको छैन । म प्रश्न गर्छु -संसदीय सभा पद्धति बारे अध्ययन नै नगरी तपाईं कसरी प्रस्तुत हुनु हुन्छ ? धेरैको जवाफ हुन्छ -दलीय व्यवस्थामा दलको प्रमुख सचेतकको निर्देशन अनुसार बोल्नुपर्ने हुन्छ, के र कसरी बोल्ने भन्ने पनि निर्देशन हुन्छ । केही माननीयको जवाफ हुन्छ -हामी संसदीय सभा सञ्चालन कार्यविधि पढेर जान्छौं ।
अब पुनः चलिरहेको संसद अधिवेशनमा फर्कौं । प्रधानमन्त्रीले एतिहासिक र उपलब्धिमूलक भनेको भारत भ्रमणलाई विपक्षी अधिकाँश सांसदहरूले यो भ्रमण देशकै बेइज्जती भएको बताए । प्रधानमन्त्रीको यो भ्रमणले मुलुकको इज्जत राख्यो वा बेइज्जत भयो त्यो बहसको अर्को विषय बन्न सक्ला । तर चलिरहेको संसदमा सारा सञ्चारकर्मीहरूको अगाडी देशको बहालवाला प्रधानमन्त्रीलाई जुन ढंगले खिल्ली उडाइयो यसले मुलुकको इज्जत बढ्छ ? दुई दुई पटक प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्षी दलका नेताको संसदमा एक पटक सम्बोधन सुनौं त ! त्यहाँ कुण्ठा, आक्रोश, सत्ता गुम्दाको पिडा,हँसी मजाक र ठट्यौली बाहेक के थियो ? पूर्व प्रधानमन्त्री जस्तो एउटा सम्मानित पदमा पुगिसकेको व्यक्ति जो अरूलाई सँधैभरि अर्ति उपदेश मात्र दिँदै हिँड्छ,ले मुलुकको कार्यकारी प्रमुखलाई सदनमा खिसिट्युरी मात्र गर्नुले उनको आफ्नो चैं कति इज्जत रहन्छ त्यो सोचेका छन् कि छैनन् ? पत्रकारहरूले तिमि सम्बोधन गरे भनेर अर्ति उपदेश युक्त लामो भाषण दिएको हिजो अस्ती जस्तो लाग्छ ।
अर्को कुरा -नागरिकता विधेयकमा यदि अहिलेका राष्ट्रपतिको कदम असंवैधानिक छ भने निवर्तमान राष्ट्रपतिको कदम पनि असंवैधानिक नै थियो । सार्वभौम संसदले दुई दुई पटक अनुमोदन गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले होल्ड गरेर राख्न मिल्ने संवैधानिक व्यवस्था छैन । तर किन प्रमुख प्रतिपक्षी दलका नेता निवर्तमान राष्ट्रपतिको बचाउ गर्दै दोहोरो चरित्र प्रदर्शन गर्छन् ? नक्कली भुटानी शरणार्थी प्रकरणमा, टिकापुर काण्ड लगायतका अन्य धेरै गम्भीर विषयहरूमा प्रमुख प्रतिपक्षी दलका नेताको दोहोरो चरित्रले पनि संसदीय मर्यादा र गरिमालाई होच्याएको छ । संसदमा प्रतिनिधित्व गर्ने धेरै सांसदहरू कम्युनिष्ट (?) पार्टीका छन् । संसद भनेको बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने लेनिनलाई परमेश्वर ठान्नेहरू संसदीय अभ्यासमा छन् । संसदीय व्यवस्थालाई अङ्गीकार गरिसके पछि यसका मान्यता र विधिलाई पनि पालना गर्नुपर्छ । हाम्रो संसद सांसद्हरूको तमासा देखाउने ठाउँ होईन ।
संसद र सांसदको चर्चा गर्दै गर्दा मलाई व्यक्तिगत रूपमा के लाग्छ भने हामी झापा क्षेत्र नं १ का मतदाताले जिताएर पठाएका सांसदले संसदीय मर्यादा र सांसदको गरिमा उच्च राखेका छन् । दलगत रूपमा म कुनै दलमा नरहेता पनि मेरो मत सही पात्रलाई गएकोमा खुसी पनि छु । अन्त्यमा, सम्पूर्ण माननीय सांसदहरूलाई मेरो करबद्ध अनुरोध - एक पटक संसदीय सभा पद्धतिको पुस्तक पढीदिनु होला । संसद रहँदा मात्र होईन सार्वजनिक जीवनका हरेक आरोह अवरोहहरूमा यो पुस्तक उपयोगी हुनेछ । अस्तु ।