झापा, जेठ २४ । धुलाबारी क्याम्पसले सञ्चालन गरेको इन्जिनियरिङ बिषयले अनुमति नपाए पछि विद्यार्थी अलपत्र परेका छन । पुर्वाञ्जल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरेको सिभिल इन्जिनियरिङका कक्षाका लागि नेपाल इन्जिनियरिङ परिषदले अनुमति नदिंदा त्याहाँ अध्ययनरत २६ जना विद्यार्थीहरु अलपत्र परेका हुन ।
गत मंसिर १७ गते प्रवेश परीक्षा लिएर छनौट गरेका विद्यार्थीले मंसिर २७ गतेसम्म सिभिल इन्जिनियरिङ कक्षामा भर्ना भएर कक्षा लिन थालेका थिए । तर जेठको पहिलो सातामा मात्रै क्याम्पस प्रशासनले इन्जिनियरिङ परिषदले कक्षा सञ्चालन गर्न अनुमति नदिएको भनेर जानकारी गराएको एक विद्यार्थीले सेतोपत्रलाई बताउनु भयो । ‘यत्रो समय हामी इन्जिनियरिङ कक्षा लिइरहेका थियौं तर परिषदले अनुमति नै दिएको रैनछ,’ एक विद्यार्थीले भन्नुभयो, ‘हामीलाई क्याम्पसले अलपत्र पार्यो ।’
‘क्याम्पसले लिएको पैसा फिर्ता मागेको छु,’ अर्का एक विद्यार्थीले भन्नुभयो, ‘अब म नपढ्ने, अब विदेश जाने तयारी गर्छु ।’ क्याम्पसले इन्जिनियरिङ कक्षाको भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दुई लाख मागेको थियो तर आफुले एक लाख दिएको र त्यो रकम पनि अब फिर्ता माग्ने ति विद्यार्थीले बताउनु भयो । ‘हाम्रो नानीहरुको समय बर्बाद गरिदिए’, क्याम्पसमा पैसा फिर्ता माग्न पुगेका एक अभिभावकले भन्नुभयो, ‘घर छेउमै इन्जिनियर पढ्न पाइन्छ भनेर नाम लेखाको अहिले आएर क्याम्पसले त्यो बिषय पढाउन नै नपाउने रैछ भन्ने थाहा भयो ।’ धुलाबारी क्याम्पसले नानीहरुको भविश्य नै अन्योलमा बनाएको ति अभिभावकको आरोप छ ।
इन्जिनियरिङ बिषयको कक्षा सञ्चालनका लागि पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिइसकेको भए पनि इन्जिनियरिङ परिषदले अन्तिम समयमा आएर अनुमति नदिएको धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेलले स्वीकार गर्नु भयो । ‘विश्वविद्यालयले सम्बन्धन दिए पछि हामीले कक्षा सञ्चालनको प्रक्रिया अगाडी बढायौं र विद्यार्थीहरु सम्पर्कमा आए पछि कक्षा पनि शुरु गरेका थियौं,’ पौडेलले भन्नुभयो, ‘अहिले आएर परिषदले अनुमति नदिने भए पछि हामीले विद्यार्थीलाई अर्को इन्जिनियरिङ क्याम्पसमा सारेर भए पनि उनीहरुको पढाई निरन्तर गर्ने तयारी गरेका छौं ।’
धुलाबारी क्याम्पसमा भर्ना भएका सबै विद्यार्थीकाले विर्तामोडस्थीत पाथिभरा कलेज अफ इन्जिनियरिङमा सोही बिषयमा पढ्न पाउने व्यवस्था गरेको क्याम्पस प्रमुख पौडेलले बताउनु भयो । ‘यहाँ भर्ना भएर विर्तामोडमा पढ्न चाहने विद्यार्थीलाई सारेर पढ्ने व्यवस्था विश्वविद्यालयमार्फत मिलाएका छौं,’ पौडेलले भन्नुभयो, ‘हामीले लिएको पैसा पनि हामी पाथीभरा कलेजलाई नै पठाएर विद्यार्थीको पढाई र समय नबिग्रिने व्यवस्थापन गरेका छौं ।’ पढ्न नचाहने विद्यार्थीबाट लिएको सबै पैसा फिर्ता गर्ने समेत प्रमुख पौडेलले बताउनु भयो ।
इन्जिनियरिङ अध्ययनमा धुलाबारी क्याम्पसबाट १० जनाले मात्रै पाथीभरा कलेज अफ इन्जिनियरिङमा सम्पर्क गरेको पाथिभरा कलेजस्रोतले जनाएको छ । धुलाबारी क्याम्पसले इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने भन्दै विद्यार्थीबाट करीब ३० लाख रकम उठएको छ ।