झापा,जेठ २३ । नेकपा माओवादी केन्द्रले सर्मथन फिर्ता लिएसंगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्की नियुत्तिको पाँच महिनामा अल्पमतमा पर्नुभएको हो ।
माओवादी केन्द्र कोशी प्रदेशको संसदिय दलको बैठकले सरकारको सर्मथन फिर्ता लिने निर्णय गरेसंगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहनुभएका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउनुभएको हो ।
पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि पुस २५ गते मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । राष्ट्रपति निर्वाचनमा यो गठबन्धन फुटेर कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि संघसहित बाँकी ६ प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भए पनि माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरेकाले कोशी प्रदेशमा भने एमाले नेतृत्वकै सरकार कायम रहेको थियो ।
जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले अल्पमतमा परेको छ ।
अब कांग्रेसका २९, माओवादीको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आएका छन् । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटको मुखमा माओवादीले सरकार छाडेपछि प्रदेशको बजेट र नीति तथा कार्यक्रम अन्योलमा परेको छ ।