मेचीनगर, जेठ २२ । मान्छेहरु हिँडेका छैनन, दौडिरहेका छन् । तिनलाई कहाँ जाने हतारो हो ? सोध्ने फुर्सद कसलाई ? कर्कश आवाज निकाल्दै वेजोडले हुँइकिरहेका छन् गाडी । पूर्वपश्चिम राजमार्गको इटाभट्टा सडक खण्डमा ग्राहक कुरेर बस्नुहुने महेन्द्र गिरीले काँधको गम्छाले पसिना पुछिसकेपछि सुनाउनुभयो, ‘यो सहर सधै यसरी नै दौडिरहन्छ । फुर्सदिला त केवल हामी मात्रै छौं ।’
पसिनाले भिजेको अनुहार । थोत्रो जस्तो देखिने हाफपाइन्ट र कालो भेष्ट लगाएका गिरीको कपाल असरल्ल छ । सडकको धुलो सोझै उहाँको विग्रिएको कपालमा वास वसेको छ । मेचीनगर– ७ आयाबारीका गिरी ‘भालेको पहिलो डाक’ संगै उठ्नुहुन्छ । अनि ठेला गुडाउँदै झिसमिसे मै आइपुग्नुहुन्छ इटाभट्टा चोक । ‘मैले ठेला गुडाउन थालेको ३० वर्ष पुग्न लाग्यो’, गिरीले संघर्षका कुरा सुनाउने मेलो गर्नुभयो, ‘परिवार पाल्न मजदुरी गरिरहेछु, जसोतसो जीवन चलिरहेछ ।’
पाँच वसन्त उमेर काटिसक्नुभएका गिरीले जीवनको आधा भन्दा बढी समय संघर्षमै विताउनुभयो । अझै पनि दाल, भात, डुकुकै लागि संघर्षर्को मैदानमा हुनुहुन्छ । ‘जीवनमा के के गरिएन होला ?’ उनी आफैमाथि प्रश्न तेर्स्याउनुहुन्छ, ‘यो पापी पेटका लागि अझै कति संघर्ष गर्न बाँकी होला थाहा छैन ।’
एक जमानामा दिनहुँ रिक्सा हाँकेर इटाभट्टा–काँकरभिट्टा गर्नुहुन्थ्यो उहाँ । रिक्साको युग समाप्त हुन लागेको भेउ पाएपछि कसैलाई सस्तो मस्तोमा रिक्सा सल्टाउनुभयो अनि शुरु भयो ठेला गुडाउने पेशा । ‘कुनै वेला ५० पैसा गोटाले काँकरभिट्टाबाट पानीटेंकी मान्छे बोकिन्थ्यो’ गिरीले विगत कोट्याउनुभयो ,‘तर ती दिन कहाँ गए खै ?’
मध्यान्हको समय । मानौँ आकासमा एउटा हैन, दुई चार थान घाम लागेका छन् । सहर तात्तिएको छ । सहरभरी धुप छ । सहरको हल्ला उस्तै दिग्दारलाग्दो छ । तर प्रवाह छैन सन्तोष राम (मोची) लाई । उहाँ निरन्तर आफ्नो कर्ममा व्यस्त हुनुहुन्छ । उहाँलाई प्रवाह छ त केवल जुत्ता सिलाउन र पालिस गर्न मात्रै ।
जो इटाभट्टाको एउटा कुनामा बसेर सधैँ यसैगरी ग्राहक पर्खिनुहुन्छ । दिनमा हुने थोरै तिनो आम्दानीबाट गर्जो टार्नुहुन्छ । पश्चिम बंगालको हात्तीकिस्सामा जन्मिनुभएका सन्तोष जीवनयापनका लागि १५ वर्ष देखि यो सीमावर्ती सहर तिरै हुनुहुन्छ । ३४ वर्षका उहाँको काँधमा परिवार पाल्ने, पढाउने जिम्मेवारी छ । उहाँलाई सानैमा यो जिम्मेवारी आइलाग्यो । अहिले उहाँ त्यही जिम्मेवारी निर्वाह गरिरहनुभएको छ र दिनभर काममा खटिनुहुन्छ ।
‘सोचेजस्तो जीवन कसैको पनि हुँदैन, जे छ त्यसैमा रमाउन सिक्नुपर्छ,’ अलि दार्शनिक पारामा उहाँ भन्नुहुन्छ ‘मैले पनि गाउँकै स्कुलमा ८ कक्षा पढेको हुँ । आज यसरी काम गर्दैछु । काम गर्न के को लाज ?’ जुत्ता सिलाउने पेशा उहाँको पुस्तौनी पेशा हो । बुबा पनि जुत्ता सिलाउँथे । त्यही भएर उहाँलाई शिप सिक्न गाह्रो भएन । ‘मान्छेको जिन्दगी चलाउँन शिपको ठूलो महत्व हुन्छ’ उहाँले थप्नुभयोे, ‘शिप छ भने भोकै मरिंदैन ।’
शुरुमा काँकरभिट्टाको बाहुण्डाँगी रोडमा जुत्ता सिलाउँनुहुन्थ्यो उहाँ । फुटपाथवाट लखेटिएपछि इटाभट्टातिर सर्नुभयो । पाँच रुपैँया गोटामा जुत्ता पालिस गरेको अनुभव छ उहाँसगँ । अहिले एउटा जुत्ता पालिस गरेको ६० देखि ८० रुपैँयासम्म लिनुहुन्छ । ‘के गर्नु ? महंगाई छ’ भन्नुहुन्छ ‘महंगिले हामी जस्ता गरिवलाई विजोक नै पार्ने भो ।’
काँकरभिट्टा बसपार्क क्षेत्रमा छ ७० बर्षिय कुमारी शाक्यको पसल । झरी आउदा छेक्ने ओत छैन, हुरी आउदा रोक्ने बार छैन । फुटपाथमै छ पसल । दिनभरी पसल थाप्नुहुन्छ अनि रात परेपछि सामान बोकेर घर लाग्नुहुन्छ उहाँ । ‘सामान थन्क्याउने एउटा घुम्ती पनि किन्न सकिएन’ उहाँको बिलौना छ, ‘फुटपाथमै जिन्दगी जाने भो ।’
३२ बर्षअघि पसल थाल्दा यो काँकरभिट्टा अहिले जस्तो कहाँ थियो र ! झुप्रा घरहरु, थोरै पसलहरु । ‘त्यसैबेला पनि सडकमै थिएँ’ उहाँले थप्नुभयो, ‘अहिले पनि सडकमै ।’ पसल थाल्दा लक्का जवान उहाँ अहिले त वुढ्यौली तिर लाग्नुभयो । त्यसैले त पहिलाजस्तो चल्दैन अहिले उहाँको पसल पनि । ‘जसोतसो दिनको ७, ८ सय कमाई हुन्छ, परिवार चलेकै छ पहिला पहिला साह्रै दुख गरियो नानी ।’ पुराना दिन सम्झँदै भन्नुहुन्छ उहाँ ‘अहिले त छोराछोरी पनि हुर्किए पहिला भन्दा धेरै आराम छ ।’
काँकरभिट्टा बजारलाई सहर बनाउन दशकाँदेखि अनेक संघर्ष गर्नुभएकी उहाँ आज यही सहर देखेर छक्क पर्नुहुन्छ । र भन्नुहुन्छ ‘समय फेरियो, सहर फेरियो, बाटाघाटा फेरिए, छिमेकीहरु पनि फेरिए अनि अलिअलि गर्दै सबथोक फेरियो ।’