युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा राजस्थान रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । राजस्थानको हारसँगै अब आईपीएलको यो संस्करणमा अपराजित हुने कुनै पनि टिम बाँकी रहेनन् ।
बुधबार रातिको खेलमा राजस्थान कोलकाता नाइट राइडर्ससँग पराजित भएको हो । राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकाताले दोस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
टम करनले ५४, जोस बट्लरले २१ तथा राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २–२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ४७ रन जोड्दा इयान मोर्गनले नटआउट ३४ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
अंक तालिका
जितसँगै कोलकाताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकाता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
यसअघि कोलकाता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।
अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ ।
राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो भने दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । रन रेटका आधारमा दिल्ली क्यापिटल्स ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । रोयल च्यालेन्जर्स बैंगलोर ४ अंकबाट चौथो स्थानमा झरेको छ ।
बाँकी चार टिमको समान २ अंक छ । चेन्नई पुछारमा रहेको छ ।
बिहीबारको खेल
बिहीबार पंजाब र मुम्बई खेल्नेछन् । खेल बेलुकी ७ः४५ बजे हुनेछ ।
खेल अबुधाबीको मैदान शेख जायेद स्टेडियममा हुनेछ ।