झापा, जेठ ६ । काँकरभित्ता–लौकाही सडक विस्तारको लागि एसियाली विकास बैंक(एडीबी) ले ३० कराेड अमेरिकी डलर ऋण स्वीकृत गरेकाे छ ।
एसियाली विकास बैंक (एडीबी)ले नेपालको यातायात सञ्जाल विस्तार गरेर भारत र बंगलादेशसँग जोडिने अन्तर्राष्ट्रिय सडक मार्ग सुधार गर्न ३० करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।
यो रकमबाट झापाकाे काँकरभिट्टादेखि सुनसरीकाे लाैकही सडक खण्ड अन्तर्गतकाे ९५ किलोमीटर सडक दुइलेनबाट चार लेनमा विस्तार गरिने् छ। यसमा ६ वटा आधुनिक पुल सहित अन्य पुल निर्माण, झापाकाे चारआली, बिर्तामाड र सुनसरीकाे इटहरीमा अण्डर पास निर्माण, ट्राफिक सिग्नल, सडकपेटी, बत्ती, रोड क्रस, बत्तीसहितको बस स्टपलगायतका पूर्वाधार निर्माण गरिने बताइएको छ।
यो आयोजनासँगै एडीबीले जलवायु परिवर्तन सुधार, सडक परियोजना, पर्फर्मेन्स इन्डिकेटरलगायत प्राविधिक सहयोगका लागि अतिरिक्त साढे सात लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।
उक्त सडक बिस्तारका लागि यस अघि नै बाेलपत्र आव्हान भएर विभिन्न कम्पनीले निर्माणका लागि प्रस्ताव पत्र समेत दर्ता गरिसकेका छन ।