मेचीनगर, जेठ ३ । सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै मेचीनगर २ का ज्येष्ठ नागरिकहरु भत्ता माग्दै मेचीनगर नगरपालिका कार्यालयमा नै आएका छन् । अन्य सबैतिर भत्ता वितरण भइसक्दा पनि आफुहरुले नपाएको र सम्बन्धित निकायलाई बारम्बार भन्दापनि वास्ता नगरेको भन्दै उत्तरी मेचीनगरका बृद्ध ज्येष्ठ नागरिकहरु बस नै रिजर्भ गरेर आज नगरपालिका कार्यालय आएका हुन् ।
‘सामाजिक सुरक्षा भत्ता खै ?’ ‘प्रशासकिय काम छिटो गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर कार्यालय आइपुगेका बृद्धबृद्धाहरुले सामाजिक सुरक्षा भत्ता वितरणमा नगरपालिकाको नेतृत्व, कर्मचारीहरु गम्भिर नबनेको आरोप लगाएका थिए ।
‘बारम्बार वडामा जानकारी गराउँदा पनि हाम्रो कुरा सुनुवाइ भएन, आखिर हामीलाई भत्ता चाहिँ किन नदिएको ? हामी बुढाबुढीलाई दुख किन दिएको ? यहि कुरा बुझ्न हामी नगरपालिका आएका हौँ ।’ हातमा प्लेकार्ड बोकेर नगरपालिका प्रवेश गर्दैगर्दा ८२ बर्षिय लक्ष्मी प्रसाद पौडेलले भन्नुभयो ।
सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशिल कुरामा कुनैपनि नेतृत्व गम्भिर नबनेको उहाँको भनाई थियो । ‘कर्मचारीले चाहिँ तलव लिन एकदिन ढिलो भयो भने आन्दोलन गर्छन्, हाम्रो अधिकारका कुरामा चाहिँ किन यस्तो लापारवाही ? अधिकार खोज्न आएका हौँ हामी ।’ नगरपालिकामा आइपुग्नुभएका अधिकांश ज्येष्ठ नागरिकको भनाई यस्तै थियो ।
यता यस विषयमा मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले ज्येष्ठ नागरिकहरुले बारम्बार वडामा आएर भत्ताका विषयमा कुरा गर्ने गरेको तर यो विषय वडाको मात्रै बसमा नभएकाले ज्येष्ठ नागरिकहरुलाई नगरपालिकामै उपस्थित गराएको बताउनुभयो । ‘यो विषयमा नगरपालिका नेतृत्वसगैँ कर्मचारीहरु पनि पूर्ण जानकार भएर लाग्नुपर्छ भन्ने लागेर ज्येष्ठ नागरिकहरुलाई नगरमै लिएर आएका हौँ ।’ वडाध्यक्ष बरालले भन्नुभयो ।
टोली नै बनेर नगरपालिका पुगेका ज्येष्ठ नागरिकहरु नगर प्रमुख तथा उपप्रमुखले चित्तबुझ्दो जवाफ दिनुपर्ने भन्दै प्रमुख, उपप्रमुखको कार्यकक्षमा नै प्रवेश गर्न खोजेका थिए । यद्यपी कार्यकक्ष बाहिर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले ज्येष्ठ नागरिकहरुलाई सबैको तर्फबाट गल्ती भएको भन्दै अब छिट्टै भत्ता उपलब्ध गराउने आश्वासन दिनुभयो ।
‘हामीसबैको तर्फबाट गल्ती भयो, केहि प्राविधिक कठिनायिका कारण ढिलो भएको हो, अब कर्मचारी साथीहरु सबैजना लाग्नुभएको छ ।’ उपप्रमुखले भन्नुभयो ‘अब छिट्टै भत्ता उपलब्ध गराउछौँ ।’ उपप्रमुखले यसो भनिरहँदा ज्येष्ठ नागरिकहरुले भने बारम्बार यस्तै प्रतिक्रिया दिने तर काम नगर्ने प्रवृत्ति भएकाले चित्तबुझ्दो जवाफ नपाएको भन्दै कुरा सुन्न मानिरहेका थिएनन् ।
‘हामीलाई बारम्बार दुख दिने काम भएको छ सधैँ हाम्रो भत्ता दिन किन ढिलो हुन्छ ? अब फेरीपनि यस्तो भयो भने पुरा वडा नै उर्लिएर आउछौँ, यसपाली थोरै आएका छौँ अब फेरी आउनुपर्यो भने एक हजार भेला भएर आउछौँ ।’ ज्येष्ठ नागरिकहरुको चेतावनी थियो ।