झापा, जेठ ३ । सुदुरपुर्व झापाको सिमान्त शहर काकरभिट्टास्थित काँकरभिट्टा माद्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले एक जना दलित विद्यार्थीलाई पढ्न बन्चित गर्नु भएको छ । कक्षा ८ मा अध्ययनरत कृष्ण कार्कीडोलीलाई विद्यालयका प्रधानाध्यापक न्यौपानेले पढ्न बन्चित गरेपछि कार्कीडोलीको अध्ययन अनिश्चित बनेको छ ।
‘पढ्न त मन लाग्छ नि हेड सरले स्कुल नआइज भन्नु भएको छ,’ कार्कीडोलीले सेतोपत्रसंग भन्नुभयो, ‘स्कुलको गेट बाहिर बस्छु, स्कुल हेर्छु अनि फर्किन्छु ।’ कक्षा १ मा पढ्ने भतिजीलाई पुर्याउन कार्कीडोली सधै विद्यालय जानुहुन्छ । भतिजीलाई विद्यालयको गेटसम्म पुर्याउँनुहुन्छ । तर, आफु चैं दिनभरि गेट बाहिर चौरीमा बसेर दिन काट्नुहुन्छ ।
‘दिनभरी चौरी तिरै हुन्छु,’ १५ बर्षिय कार्कीडोलीले भन्नुभयो, ‘स्कुल भित्र पस्न दिदैनन अनि चौरीमा केटाहरुले फुटबल, क्रिकेट खेलिरहेको हेर्छु स्कुल बिदा भएपछि भतिजी लिएर घर फर्किन्छु ।’
केही महिना अघि कार्कीडोलीका एक सहपाठीको गोजीमा गाँजा भेटेको बिषयलाई लिएर प्रधानाध्यापकले गत माघ महिनादेखि आफुलाई विद्यालय प्रवेश गर्न नदिएको कार्कीडोलीले गुनासो गर्नु भयो । ‘साथीहरुको संगतले एक दुई पटक गाँजा खाएँ तर अहिले म सुध्रिसकेँ,’ कार्कीडोलीले भन्नुभयो, ‘मलाई अब पढ्न मन छ तर हेडसरले नआउनु भनेकाले जाने आँट गरेको छुइनँ ।’ आफ्नो दाजु दिदिहरु सबै काँकरभिट्टा मावि नै पढेकाले आफुलाई पनि त्यहि स्कुल प्यारो लाग्ने कार्कीडोलीको भनाई छ । ‘मलाई सरहरुले आदर्श मावि इटाभट्टा जा भन्नुहुन्छ,’ कार्कीडोलीले भन्नुभयो, ‘दाजु दिदि सबै यहीं पढ्नुभयो, म टाढाको स्कुल किन जाने ?’
कार्कीडोली सहित अन्य केही विद्यार्थीले विद्यालयकै समयमा गाँजा खाएको भेटिएकाले उनीहरुको समूह छुट्याउन अन्यत्रका विद्यालयमा सार्ने अभिभावकसंगै सहमति भएको काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताउनु भयो । विद्यार्थीको गोजी मै गाँजा भेटिए पछि विद्यालयमा बाहिर राख्नु परेको प्रधानाध्यापक न्यौपानेको दाबी छ । ‘केही विद्यार्थी कुलतमा फसेको भेटियो,’ न्यौपानेले भन्नुभयो, ‘पटक पटक सम्झाउने काम गर्दा समेत सुधार नभए पछि विद्यालय नआउनु भनेका हौं । तर स्थानान्तरण प्रमाण पत्र दिएरै विदा गरेका छैनौं ।’
विद्यालय पढाउनेसंगै व्यवहार सुधार्ने ठाउँ पनि रहेकाले साथी संगतले बाटो बिराएकाहरुलाई सहि बाटोमा ल्याउनुको साटो विद्यालयबाटै निस्कासन गर्दा त्यस्ता विद्यार्थीको भविश्य कता तिर जाला भन्ने हेक्का समेत नराखी प्रधानाध्यापक न्यौपानेले गरेको निर्णय गैरकानुनी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाका प्रमुख राजकुमार बिश्वकर्माको भनाई छ । बिश्वकर्मा भन्नुहुन्छ,ु ‘गल्ति गरे बिद्यार्थीलाई सम्झाएर सुधार्दै लैजाने हो, पढ्ने, लेख्ने नैसर्गिक अधिकारवाट बन्चित गर्न मिल्दैन ।’