मेचीनगर, जेठ ३ । व्यस्त छ बजार, बाक्ला छन् बस्तीहरु, अगाडीको कालोपत्रे सडकमा आफ्नै रफ्तारलाई पछ्याउँदै हुइँकिरहेका छन् सवारीहरु, बरपिपलले दिने सितल छाँयाको साहरामा आफ्नै सुरले गफिरहेका छन् मानिसहरु । मेचीनगर ७ को इटाभट्टाबाट करिब ८ किलोमिटर उत्तर लागेपछी आउने भृकुटी बजारको दृष्य हो यो । जुन बजार अहिले उत्तरी मेचीनगरकै व्यस्त बजार बनिसकेको छ ।
सयौँको संख्यामा पसलहरु खुलेका छन्, मानिसहरुको चहलपहल उस्तै, लाग्छ उत्तरी मेचीनगरको आधारभुत आवयश्यक्ता अहिले यहि बजारसगँ जोडिएको छ । यहाँका परिवारमा तब मात्र खुशी छाउँछ जब भृकुटी बजारले पठाइदिन्छ । अहिले आएर यति व्यस्त बनेको यस बजार कुनै बेला भने अनकन्टार जंगल थियो, अहिले भृकुटी बजार भनेर चिनीने बजारको नाम कहाँ भृकुटी थियो र ? ‘बाङ्गे’ भनिन्थ्यो ।
दिउँसै भालु लाग्थे, स्याल कराउँथे, अहिले कालोपत्रे बनेको सडक कहाँ थियो र ! सानो गोरेटो बाटो थियो जहाँ घोडा मार्फत यात्रा गरिन्थ्यो । अहिले मावि तहमा सञ्चालन भइरहेको भानु माध्यमिक विद्यालय सञ्चालनको कुनै सुरसार थिएन । २००१ सालको कुरो हो जिन्दगी कटाउने क्रममा खोइ कताबाट डुल्दै डुल्दै जुद्देश्वर पण्डीत टुप्लुक्क यहाँ आइपुगे । जो अहिले ‘जुङ्गेश्वर बा’ का नामले परिचित हुनुहुन्छ । ‘१९९० सालमा बिरगञ्जको जनम हो, दो हजार एक मेँ यहाँ आयाहुँ ।’ जिन्दगीका पुराना दिन सम्झँदै उहाँ भन्नुहन्छ ।
अहिलेको भृकुटी बजारमा पाइला टेक्दा उहाँ १२ बर्षको हुनुहुन्थ्यो । ‘जम्मा २१ घर थिए, बाङ्गे भनिन्थ्यो यहाँ ठाउँलाई, २४ सालमेँ स्कुल बनेपछी मात्रै भृकुटी भनियो ।’ आफ्नो घुम्ती दोकानमा पुराना दिनहरु सम्झँदै उहाँ भन्नुहन्छ ‘७ सालमा क्रान्ती भयो २४ सालमा यहाँ स्कुल बनाउने योजना बन्न थाल्यो ।’ त्यसबेलाका दिन सम्झँदै उहाँ कान्छा महाजन, सिटुङ मगर लगायतको नाम लिनुहन्छ । बाङ्गेबाट भृकुटी बजार बनाउँदै परिवर्तनका लागी कयौँ पसिना बगाएका पुराना मानिसहरुमध्ये जुङ्गेश्वर बा मात्रै अहिले जिवित हुनुहुन्छ ।
जसले २००२ सालमा जंगल फाँड्दै जिवन कटाउने आश्रय खोज्नुभयो, शिक्षाका निम्त्ति खरको छानाको ओतमा दुई पाखे छाप्रो बनाएर ज्ञानका ज्योति बाँड्नुभयो, गाउँले जिवनलाई सहज बनाउन किराना पसल खोल्नुभयो, समग्रमा अहिलेको व्यस्त भृकुटी बनाउन कयौँ पसिना बगाउनुभयो । अहिले पनि त्यहि व्यस्त बजारको एउटा कुनामा सानो घुम्ती राखेर उ जमानाको व्यापारलाई निरन्तरता दिइरहनुभएको छ ।
भन्नुहन्छ ‘उ जमानामा सबैभन्दा ठुलो दोकान नै मेरो थियो, घोडामा नक्सल गएर सौधा ल्याउनुपथर््यो अहिले त बुढो भइएछ बाबु केही न केही गर्न मन लाग्छ, यहि सानो घुम्ती चलाइरहेछु ।’ बिरगञ्जको व्यापारिक घरानामा जन्मिएपनि सानै उमेरमा उहाँले घर छोड्नुभयो र जिवनको साहरा खोज्न कहाँकहाँ पुग्नुभयो । ‘यसले यहाँ ल्याइपुर्यायो नानी ।’ आफ्नो निधार देखाउँदै उहाँ भन्नुहन्छ ।
अन्तत गाउँघरलाई सामान पुर्याउँदा पुर्याउँदै बित्यो उहाँको पनि जवानी । घोडामा चढेर नक्सल पानीटेंकी पुगेर सौधा ल्याएको अनुभव छ उहाँसगँ । ‘अहिले त बुढो भइएछ, सकिँदैन हिँड्न पनि उ बेलामा डेढ सय मन धान फलाइन्थ्यो, हात्ती लाग्छ भनेर भकारीमा होइन खाल्डो खनेर धान राख्ने चलन थ्यो अहिले त खोइ ? खेति नै हुन छाड्यो, अल्छी भए मानिसहरु ।’ जवानीका दिन सम्झँदै उहाँ मुस्काउनुहन्छ ।
हुनपनि यो ठाउँमा उहाँले पाइला राखेकै दशर्कौँ भइसकेछ । अनि किन व्यस्त नबनोस त बजार, किन नबाक्लिउन त बस्तीहरु, किन नखुलुन त सयौँका संख्यामा पसलहरु, किन नहराउन त भालु र स्यालहरु अनि किन नहराओस त त जुङ्गेश्वर पण्डीतको जवानी पनि ! आखिर समयको चक्र न हो । जुन परिवर्तनले २००१ सालमा यहाँ आइपुग्नुभएका उहाँपनि आजकल छक्क पर्नुहुन्छ । ‘यो बजार यस्तो हुन्छ भन्ने लागेकै थिएन, अहिले छक्क पर्छु ।’ उहाँ भन्नुहन्छ ।