मेचीनगर, वैशाख ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. एनएमसीले आफ्नो भवन अर्कै संस्थालाई भाडामा दिएर मासिक ३७ हजार भन्दा धेरै रकम घाटा व्येहोरिरहेको खुलेको छ । झापाकै पुर्वी सिमान्त शहर काँकरभिट्टामा एनएमसीको आफ्नै चार तले भवन छ । तेस्रो तलासम्म सहकारीको आफ्नै कार्यालय रहेपनि भुँइतलामा भने एउटा नीजि व्यापारिक संस्था सयपत्री नेपालको पसल सञ्चालनमा छ ।
जबकी एनएमसीले आफ्नो सहकारी पसल भने मासिक ६५ हजार रकम तिरेर बाहुनडाँगी रोडमा भाडाको घरमा सञ्चालन गरिरहेको छ । आफ्नो भवनको भुँइतला मासिक २७ हजार ६ सय रुपैँया भाडा तिर्ने सर्तमा सयपत्री नेपाललाई दिएर आफ्नो पसल भने मासिक ६५ हजार रकम तिर्दै भाडाको घरमा सञ्चालन गरिरहेको खुल्न आएको हो । जसले सहकारीलाई एक महिनामै ३७ हजार ४ सय रकम घाटा व्येहोर्न बाध्य बनाइरहेको छ । जुन विषयमा कयौँ सदस्यहरु सायद बेखबर छन् ।
एनएमसीको भवनमा सयपत्री नेपालले पसल गरिरहेको र एनएमसीले भाडामा आफ्नो सहकारी पसल सञ्चालन गरिरहेको विषय धेरै सदस्यलाई थाहा भएपनि यसमार्फत संस्थाले कति घाटा व्येहोरिरहेको छ भन्ने चाहिँ अधिकांशलाई थाहा छैन । एनएमसीको भवनमा पसल सञ्चालन गरिरहेको सयपत्री नेपाल एनएमसीकै अध्यक्ष रामचन्द्र उप्रेतीको हो ।
अर्थात यसका मालिक एनएमसीकै अध्यक्ष रामचन्द्र उप्रेती हुनुहुन्छ । सहकारीको पसल चाहिँ भाडामा राखेर आफ्नो भवन चाहिँ अध्यक्षकै पसल सञ्चालनका लागि भाडामा दिइएको छ, यस्तो कसरी भयो ? भनेर सेतोपत्रले सहकारीकै अध्यक्ष उप्रेतीसगँ पनि बुझेको छ । जसक्रममा उहाँले सम्झौताका आधारमा संस्था चल्नुपर्ने भएकाले यस्तो भएको बताउनुभयो । ‘एग्रिमेन्ट अनुरुप संस्था चल्नुपर्छ, एग्रिमेन्ट सकिएकै छैन ।’ उहाँले भन्नुभयो ।
संस्थाले आफ्नो भवन सयपत्री नेपाललाई भाडामा दिएर सहकारी पसल महँगो भाडामा सञ्चालन गरिरहेको एनएमसीका प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेलले स्वीकार गर्नुभयो । उहाँले एनएमसीको भवन मासिक २७ हजार ६ सय भाडा तिर्ने सर्तमा सयपत्रीलाई दिएको र संस्थाको पसल ६५ हजार भाडा तिर्ने सर्तमा बाहुनडाँगी रोडमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
‘सम्पुर्ण रुपमा प्रक्रिया पुरा गरेर नै सम्झौता अनुरुप सयपत्रीलाई भाडामा पसल सञ्चालन गर्न दिएका हौँ, शुरुमा तीन पटकसम्म भाडाका लागि टेण्डर आह्वहान गरेका थियौँ जसक्रममा सयपत्रीले टेण्डर पार्यो र पसल सञ्चालन गरिरहेको छ ।’ उहाँ भन्नुहुन्छ ‘सयपत्री नेपाललाई पसल सञ्चालन गर्न दिने कुरामा संस्थाले सम्पुर्ण प्रक्रिया पुरा गरेको छ ।’
उहाँका अनुसार एनएमसी २०६८ सालमा अहिलेको भवनमा सरेको हो । त्यसैताकादेखि नै सयपत्रीले पनि त्यहाँ पसल सञ्चालन गरिरहेको छ । जसअनुरुप पहिला ५ बर्षको समय तोकिएकोमा त्यसपछि ५ बर्ष र फेरी २ बर्षको समयावधी थपिएको छ । पछिल्लो समय थपिएको समयवधी भने २०८१ साल असार मसान्तमा सकिने उहाँले बताउनुभयो । ‘समयवधी सकिएपछि संस्थाको वैठक मार्फत निर्णय गरेर संस्थाले आफ्नै भवनमा सहकारी पसल सञ्चालन गर्न सक्छ ।’ उहाँले भन्नुभयो ।