झापा, वैशाख २९ । पाँच जना शिक्षकलाई हाजिर गराउन ५० लाख घुस माग्नु भएका पुहाँतु जनज्योति मावि भद्रपुर ९ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नागरिकता बनाइदिने भन्दै स्थानीय फूलमनी किस्कु बानियाँसँग ४० हजार घुस मागेको आरोप लागेको छ । नागरिकता बनाइ दिने भन्दै परमानन्दले आफूसँग घुस मागेको फूलमनीले सेतोपत्रलाई बताउनु भयो ।
‘मेरो श्रीमानको नागरिकता छ, विवाह दर्ता पनि गरेको छ,’ फूलमनीले सेतोपत्रसंग भन्नुभयो, ‘तर पनि नागरिकता बनेको छैन, त्यही कुरा परमानन्दलाई सुनाउँदा ४० हजार दिनु नागरिकता बनाइदिन्छु भन्नुभयो ।’
विवाह गरेको तिन बर्ष भइसक्दा पनि श्रीमतीको नागरिकता नबनेका कारण गाउँको जान्ने बुझ्ने मान्छे भनेर परमानन्दलाई नागरिकता बनाइदिन सहयोग माग्दा उल्टै पैसा मागेको फूलमनीका श्रीमान बाबुराम बानियाँले बताउनु भयो । ‘मिश्र बाबैको श्रीमती बिरामी भएर उपचारमा गएको बेला वहाँको घरको सबै काम मैले नै गरिदिएको थिएँ,’ बाबुरामले भन्नुभयो, ‘तर मेरै श्रीमतीको नागरिकता बनाउन पनि परमानन्दले ४० हजार माग्नु भयो, सारै दुःख लाग्यो ।’
श्रीमतीको नागरिकता नबने पछि सात महिना अघि बाबुराम स्थानीय अगुवा भएकाले मिश्रको घरमा सहयोग माग्न जानु भएको थियो । त्यो बेला ४० हजार नभए २० हजार मात्रै भए पनि दिनु पर्छ भनेर परमानन्दले पैसा मागेको बाबुरामले बताउनु भयो । ‘४० हजार सक्दैनस भने २० हजार चैं दे न त केटा,’ परमानन्दले पैसा मागेको कुरा उदृत गर्दै बाबुरामले भन्नुभयो, ‘त्यो पनि छैन भने १५ हजार चै दे है केटा, बिराटनगरको मान्छे आएर तेरो श्रीमतीको नागरिकता बनाइदिन्छ ।’ ‘पैसा दिँदा नागरिकता पाउने, नदिँदा नपाउने कसरी हुन्छ,’ फूलमनीले रुँदै भन्नुभयो, ‘कागज मिलेको छैन भने पैसा दिँदा चैं कागज मिल्छ र ?’
भद्रपुर वडा नं. ९ को वडा कार्यालयमा सफाई कर्मचारीका रुपमा कार्यरत बाबुरामको विवाह दर्तामा श्रीमती फूलमनीको आमा बुवाको नाम नागरिकता अनुसार फरक परेकाले फूलमनीको नागरिकता बनाउन समस्या भएको बाबुरामले बताउनु भयो । सन्थाल समुदायकी फूलमनीको माइति हल्दिबारी हो भने वहाँका बुवा आमा र श्रीमानको बंशजको नागरिकता रहेको छ ।