मेचीनगर, वैशाख २९ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले देशमा अझै पनि जात व्यवस्था जर्जर अवस्थामा रहेको दावी गर्नुभएको छ । महाकाली–मेची साइकल यात्राी पत्रकार महिलाहरुलाई सम्मान गर्दै अध्यक्ष विश्वकर्माले अहिलेपनि देशका कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा जात व्यवस्थाको मजवुद जरा रहेको बताउनुभयो ।
यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले पनि पछिल्लो समय विभेदको रुप फेरिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश र झापा जिल्ला समितिले साइकल यात्री पत्रकार महिलााहरु रिता बुढाथाकी, संगीता नेपाली र इन्दिरा विश्वकर्मालाई सम्मान गरेको थियो । गत वैशाख ६ गते महाकालीको गड्डाचौकीवाट यात्रा शुरु गर्नुभएका उहाँहरु २० दिनपछि मंगलवार साँझ मेची आइपुग्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मिलन परियार, पहिलो पत्रकार साइकल यात्री मुक्ति पौडेल, प्रेसयुनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, दलित समन्वय समिति मेचीनगरका निवर्तमान अध्यक्ष ध्रुव कनाल, एमाले झापाकी सदस्य निरु परियार, नारी संचार गृहकी सचिव मायामितु न्यौपाने, एकीकृत सरकारी कर्मचारी संगठनका झापा अध्यक्ष निरोज कट्टेल, संचार प्रतिष्ठान मेचीनगरका अध्यक्ष शिविर चम्लागाई, तीनै जना साइकल यात्रीलगायतले मन्तव्य राख्नुभएको थियो ।
दलित समन्वय समिति मेचीनगरका अध्यक्ष टोलवहादुर सुनार (नारायण) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पर्वत पोर्तेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय दलित पत्रकार संघ झापाका अध्यक्ष प्रदीप परियारले गर्नुभएको थियो ।