मेचीनगर, वैशाख २८ । सेतोपत्र डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा पेशाप्रति हतोत्साहित बनाउने गरी झापाको भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए) का अध्यक्ष ज्ञानेन्द्र कटुवालले सामाजिक सञ्जालमार्फत दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ झापा शाखा, नेपाल प्रेस युनियन झापा र प्रेस क्लब मेचीनगरले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य, प्रेस युनियन प्रदेश उपाध्यक्ष र प्रेस क्लब मेचीनगरका पूर्वअध्यक्ष समेत रहनुभएका सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले धम्की दिएका थिए ।
विद्यालय व्यवस्थापन समिति र त्यहाँ कार्यरत् पाँच जना शिक्षकवीचको विवादको बारेमा सेतोपत्र डटकममा सम्प्रेषित समाचारको विषयलाई लिएर पीटीए अध्यक्ष कटुवालले आफ्नो फेसबुकमा स्टाटस लेखेर पत्रकार निरौला र सञ्चारमाध्यमकोे नामै किटान गरी कार्वाहीको धम्की दिदैं पेशाप्रति हतोत्साहित बनाउने कार्य गरेको पाइएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चार माध्यमको नामै किटान गरेर धम्क्याउदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रता विरोधी र खेदजनक भएको पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्रेस युनियन झापाले पनि विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारप्रति चित्त नबुझे कानूनी उपचार खोज्न सुझाउँदै ‘अभिव्यक्ति स्वतन्त्रता बिरोधी घटना नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासन एवं सरकारसँग नेपाल प्रेस युनियन झापा जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा युनियनले भनेको छ ।
यसैगरी प्रेस क्लब मेचीनगरले समेत विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता विरोधी कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि पुहाँतु जनज्योति माविका पाँच जना स्थायी शिक्षकलाई व्यवस्थापन समितिको निर्णय नमानेको भन्दै वैशाख ५ गतेदेखि विद्यालयमा हाजिर हुन नदिएको बिषयमा सेतोपत्र डटकमले समाचार प्रकाशित गरेको थियो ।
दुई मावि तह सहितका पाँच जना शिक्षकलाई हाजिर गराउने बिषयमा समन्वय गर्दा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले ५० लाख रकम दिनु पर्ने र माफी माग्नु पर्ने शर्त राख्नु भएको थियो । मिश्रले ५० लाख मागेको अडियो रेकर्ड सेतोपत्र डटकमले यस अघि नै सार्वजनिक गरिसकेको छ ।
त्यस्तै मिश्र बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको खबर पनि सेतोपत्र डटकमले प्रकाशित गरेको थियो । यहि बिषयमा बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कटुवालले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार तथा सञ्चारमाध्यमको नामनै किटान गरि कारवाहीको धम्की दिएका थिए ।