मेचीनगर, वैशाख २७ । पूर्वी क्षेत्रमा लगातार रुपमा छिनछिनमा बिजुली जाने समस्या कयौँ दिनदेखि नियमित रुपमा भइरहेको छ । दिनमै कयौँपटक बिजुली आउने जाने समस्याले आमनागरिक हैरान छन् भने उद्योग व्यवसाय क्षेत्रमा समेत गम्भिर असर परिरहेको छ । ‘बिजुली जान्छ तर धेरै बेर पनि होइन, जान्छ ५ मिनेट पनि नभइ आइहाल्छ, यस्तो चाहिँ कसरी हुन्छ ?’ पछिल्लो समय आमनागरिकले गर्ने प्रश्न प्राय यस्तै हुन्छ ।
जसले पनि बारम्बार बिजुली अनियमित हुँदा नागरिक कतिको हैरान छन् भन्ने कुराको पुष्टि गर्छ । अर्कातिर गर्मी पनि लगातार बढ्दो क्रममा छ । दिनभर पंखाको साहरा नलिए बस्न नै नसकिने अवस्था छ । यी समग्र बाध्यताका कारण पनि झ्याप्प झ्याप्प बिजुली जाने क्रम भने रोकिएको छैन । अत्याधिक रुपमा बिजुली अनियमित हुनाले उद्योग व्यवसाय नै धरासयी बन्दै गएको भन्दै केहिसमय अघि मेची उद्योग वाणिज्य संघले तत्काल समस्याको समाधान नगरे आन्दोलन गर्ने चेतावनीका साथ नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ज्ञापन पत्र नै बुझाएको थियो ।
तरपनि विद्युत आपुर्तिको अवस्था भने उस्तै छ । ज्ञापन पत्र बुझाउँदा १० दिनभित्र समस्याको समाधान हुन्छ भनेर आश्वासन पाएपनि समस्या भने उस्तै रहेको उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रशाईले बताउनुभयो । ‘ज्ञापन पत्र बुझाउँदा हाकिम साबले १० दिन पर्खिनु भन्नुभएको थियो तर उहाँको १० दिन अझै आएको छैन ।’ उहाँ भन्नुहुन्छ ‘अबको वैठकमा हामी यसबारे गम्भिर छलफल गरेर आगामी कार्यक्रम निर्धारण गर्छौँ ।’
१० दिनभित्र समस्याको समाधान हुने आश्वासन व्यवसायीले पाएपनि समस्या भने जस्ताको तस्तै छ । यस विषयमा सेतोपत्रले यस्तो किन भइरहेको छ ? प्राधिकरणका कर्मचारीको लापारवाहीका कारण पो हो कि ? अर्थात प्रणालीमा नै समस्या हो ? भनेर बुझ्ने प्रयास गरेको छ । जसअन्तर्गत यस विषयमा बुझ्दा नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका प्रमुख सुनिलकुमार महतोले समग्र विद्युत उत्पादन प्रणालीमै असर परेको बताउनुभयो ।
सुक्खायाम जारी रहँदा, खोलानालामा पानी सुक्दा विद्युत उत्पादन घटेको र यहाँपनि लोड नपुग्ने समस्या देखिने भन्दै विद्युत अनियमित भइरहेको उहाँको भनाई छ । ‘समग्र देशकै विद्युत उत्पादन प्रणालीमा असर देखिएको छ, खोलानालामा पानी छैनन्, सुक्खा याम छ, जलवायु परिवर्तनको असर पनि त्यस्तै छ सोहि कारण झ्याप्प झ्याप्प विजुली गइरहेको छ ।’ उहाँ भन्नुहुन्छ ‘यो यहाँको मात्रै समस्या पनि होइन, तपाँईले इटहरी, विराटनगर लगायतका क्षेत्रमा पनि सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ, समग्र प्रणालीमा नै अहिले समस्या छ ।’
कहिलेसम्म यसरी विद्युत अनियमित भइरहन्छ ? भन्ने सेतोपत्रको प्रश्नमा उहाँले समग्र प्रणालीकै समस्या भएकाले यसै भन्न नसकिने तर छिट्टै समाधान हुनेमा बिश्वस्त रहेको बताउनुभयो । ‘उत्पादन बढेपछि आफै पहिलाजस्तो हुनेछ ।’ उहाँको भनाई छ ।