झापा, वैशाख २६ । गाई-भैंसीलाई लाग्ने लम्पी स्किन रोग झापामा महामारीकै रुपमा फैलिरहेको पाइएको छ । पहाडी क्षेत्रमा भयानक रुपमा फैलिरहेको यस रोग कोशी प्रदेशका सबै जिल्लामा देखिइसकेको छ भने झापामा समेत महामारीकै रुपमा फैलिरहेको पाइएको हो ।
जिल्लाका गौरादह, बाह्रदशी, कनकाइ लगायतका पालिकामा यस रोगको उच्च संक्रमण पाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म यस रोगका कारण जिल्लाामा एक सय २५ वटा पशु मरिसकेका छन् भने ६ हजार ५ सय भन्दा धेरै गाई-भैंसी अहिले नै यस रोगबाट संक्रमित छन् । यद्यपी यो संख्या अझ धेरै हुन सक्ने अनुमान छ ।
यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु नै हुन्छ । ‘रोग लागेपछि दुध उत्पादनमा ठुलो ह्रास आउँछ, दुध उत्पादन एकैपटक ह्वात्तै घट्ने भएकाले कृषकहरु प्रत्यक्ष मारमा पर्छन् ।’ केन्द्रकी प्रमुख भट्टराई भन्नुहुन्छ ‘यस रोगको प्रभावकारी उपचार खोप मात्रै हो अरु विकल्प छैन ।’
तर छैन खोप
उहाँका अनुसार यस रोगको प्रभावकारी उपचारको उपाय एक मात्र छ, त्यो भ्याक्सिन (खोप) हो । तर उपचारको भरपर्दो उपाय खोप भएपनि जिल्लामा पर्याप्त मात्रामा खोप भने उपलब्ध छैन । सरकारी तवरबाट त छदैँ छैन, केहि निजी सप्लायर्सहरुले खोप उपलब्ध गराइरहेका छन् ।
जसका कारण किसान आफैलै २ सय ५० देखि २ सय ८० सम्ममा किनेर खोप लगाउनुपर्ने बाध्यता रहेको प्रमुख भट्टराईले सेतोपत्रसगँ बताउनुभयो । ‘रोग खतरा रुपमा फैलिरहेको भएपनि खोपको अभाव छ, किसान आफैले किन्नुपर्ने बाध्यता छ भने निजि सप्लायर्सहरुले केहिमात्रामा उपलब्ध गराइरहेका छन् ।’ उहाँ भन्नुहुन्छ ‘केहिदिन अघि ७५ हजार मात्रामा खोप आएको छ भन्ने सुनिएको छ ।’
यस रोगको प्रभावकारी उपाय खोप भएपनि संक्रमित पशुलाई भने खोप लगाउन मिल्दैन । स्वस्थ पशुलाई मात्रै खोप लगाउन मिल्ने उहाँले बताउनुभयो । ‘धेरै किसानहरु रोग लागेपछि मात्रै सम्पर्कमा आउनुहुन्छ, जबकी रोग लागेपछि पशुलाई खोप नै लगाउन मिल्दैन ।’ उहाँ भन्नुहुन्छ ‘स्वस्थ पशुलाई मात्र खोप लगाउन मिल्ने भएकाले रोग निवारणमा ठुलो चुनौति देखा परेको छ ।’
उहाँका अनुसार पशुलाई यस रोगबाट बचाउन गोठ सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गोठ सरसफाईमा उचित ध्यान दिए, लामखुट्टे लगायतका संक्रमण सार्न सक्ने जिवाणु बस्न सक्ने पानी जमेका ठाउँहरु पुरिदिए, गोबर मल गोठभन्दा निक्कै पर व्यवस्थापन गर्न सके यस रोगबाट पशुलाई बचाउन सकिने उहाँले बताउनुभयो ।