झापा, वैशाख २६ । झापा भद्रपुर नगरपालिका वडा नं. ९ स्थीत पुहाँतु जनज्योति माविका पाँच जना स्थायी शिक्षकले वैशाख ५ गतेदेखि विद्यालयमा हाजिर गर्न पाएका छैनन । उनीहरुले कुनै जघन्य अपराध गरेर हाजिर गर्न नपाएका होईनन । विद्यालय व्यवस्थापन समितिले गरेको गैरकानूनी निर्णय बिरुद्ध उभिएकै कारण २० दिनसम्म पनि विद्यालयमा ति पाँच स्थायी शिक्षकले हाजिर गर्न पाएका छैनन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्र र शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालको ठाडो निर्देशनमा प्रधानाध्यापक कौशाल्यादेवी आचार्यले पाँच जना शिक्षकहरु श्रीजना प्रसाई, कमला राई, सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र सर्मिला अधिकारीलाई हाजिर गर्न दिनु भएको छैन ।
त्यतिमात्र होईन केही दिनदेखि ति पाँच जना शिक्षकलाई विद्यालय प्रवेशमा समेत रोक लगाईएको छ । ‘शुरुमा शिक्षक कोठामा बसेका थियौं,’ पीडित शिक्षक श्रीजना प्रसाईले भन्नुभयो, ‘केहि समय पछि हामीलाई बाहिर निकालेर शिक्षक कोठामा ताला लगाइयो । अरु शिक्षकलाई प्रशासन कोठामा बस्न भनिएको छ हामी लामो सयम विद्यालयको चौरमा नै बस्यौं ।’ प्रसाईका अनुसार अहिले पाँचै जना शिक्षकलाई विद्यालयमा प्रवेशमा समेत रोक लगाइएको छ । ‘हामीलाई विद्यालय प्रवेश गर्न दिईएको छैन,’ प्रसाईले भन्नुभयो, ‘कहिले शिक्षा समन्वय कार्यालय त कहिले नगरपालिका पुगेर दिन बिताइरहेका छौं ।’
शिक्षक महासंघ भद्रपुरले शिक्षकलाई हाजिर गराउन समन्वयको भुमिका खेलिरहेको भए पनि व्यवस्थापन समिति अध्यक्ष परमान्द मिश्रले पाँच जना शिक्षकले ५० लाख घुस मागे पछि भने शिक्षक महासंघ भद्रपुर पनि पछि हटेको बुझिएको छ । त्यसो त जिल्लाका शिक्षक संघ र संगठनले विज्ञप्ती निकालेर आफ्नो जिम्मेवारी पुरा भएको ठानेको देखिन्छ । शिक्षकहरु दैनिक रुपमा अपमानित भइरहँदा पनि शिक्षककै हकहितमा काम गर्ने भनेर गठन भएका शिक्षक संघ संगठन अहिले मुखदर्शक भएर टुलु टुलु हेरिरहेका छन ।
दुई मावि तह सहित पाँच जना स्थायी शिक्षकहरुले दुर्व्यवहार र अपमान सहेको २० दिन पुरा भयो । व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिका व्यक्तिहरुले दैनिक रुपमा ति शिक्षकहरुलाई धम्क्याउने काम गरिरहेका छन । दुर्व्यवहारको त लामौ लिष्ट तयार गर्न सकिने अवस्था छ तर पनि शिक्षक संघ संगठन कानमा तेल हालेर बसेको देखिन्छ ।
फगत विज्ञप्ती निकालेर चुपचाप बसेका शिक्षक सम्बद्ध थुप्रै संघ संगठनहरुले त्यस पछि ति शिक्षकहरुलाई सम्मान पुर्वक हाजिरी गराउने तर्फ सिन्को भाँचेका छैनन । राजनितिक बिषयमा बक्तव्य बाजी समेतमा उत्रने गरेका शिक्षक संघ संगठनहरु पाँच जना शिक्षकको अपमानको राम्रो दर्शक भएर बसेको छ ।
आफ्नो सेवा सुविधाका बारेमा चर्को आवाज गर्ने शिक्षक संघ संगठनहरुले पुहाँतु जनज्योतिको जंगलराज बिरुद्ध चुँ सम्म गर्न नसक्नु लज्जास्पद देखिन्छ । सामुदायिक विद्यालय सुधारको थुप्रै कुरा गरिए पनि आर्थिक अनियमितताको जालो तोड्न पुहाँतु जनज्योति माविका पाँच जना शिक्षकहरुले गरेको बिद्रोहलाई बल दिनुको साटो शिक्षकका नेताहरु दलिय स्वार्थमा रुमलिएर बसेका छन ।
शिक्षकलाई हाजिर गर्न ५० लाख घुस मागेका व्यवस्थापन समितिका अध्यक्ष मिश्र बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भइसकेको छ । यता अध्यक्ष मिश्रले नगरपालिका र शिक्षा विकास समन्वय इकाईले पाँचै जना शिक्षकलाई हाजिर गराउनु भनेर दिएको लिखित निर्देशन समेत मानेका छैनन ।