मेचीनगर, वैशाख २५ । सवारी मर्मतकै लागि टाढाटाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आजबाट मेचीनगर ७ मा सुविधासम्पन्न रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
स्थानीय युवा नेता समेत रहनुभएका ओमप्रकाश खापुङको नेतृत्व तथा लगानीमा मेचीनगर ७ आयाबारीमा ‘माई वल्र्ड रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर’ नामक रिकन्डिसन हाउसको आज विधिवत् रुपमा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभयो । मेचीनगर प्रमुख बुढाथोकीले पूर्वपश्चिम राजमार्गकै उत्तर पट्टीको भागमा रहेको यस सुविधासम्पन्न रिकन्डिसन हाउसको गेटमा टांगिएको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि बोल्दै उहाँले सवारी मर्मतकै लागि मेची पारीदेखि टाढाटाढासम्म जानुपर्ने बाध्यताको अब अन्त्य भएको बताउनुभयो । ‘यस किसिमका संरचनाहरु सञ्चालन हुनु नगरकै गौरवको कुरा हो, यसले समग्र नगरवासीलाई अत्यन्तै सहज बनाउछ ।’ उहाँले भन्नुभयो ‘बिश्वसनिय, भरपर्दो रुपमा र छिटो छरितो सेवा दिने हो भने यस किसिमका व्यवसायको भविष्य राम्रो छ र म यस रिकन्डिसन हाउसलाई सोही किसिमको सेवा दिन पनि आग्रह गर्दछु ।’
यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथी मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले यस किसिमका व्यवसाय खुलिरहँदा स्थानीय युवाहरुले रोजगारी पाउने भन्दै यसले वडाको विकासमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी बुढाथोकी, विशिष्ट अतिथी ओलीसगैँ मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ, ज्येष्ठ नागरिक तथा समाजसेवी जितबहादुर लावती, युवा व्यवसायी तथा नेता माधव अर्याल, सुशिल आचार्य, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
रिकन्डिसनद्वारा सिटि सफारी, युवालाई रोजगारी
सवारी मर्मत सम्बन्धी सम्पुर्ण काम हुने यस ‘माई वल्र्ड रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर’ले युवाहरुलाई रोजगार बनाउने उद्देश्यका एक नयाँ योजना समेत अघि सारेको छ । कार्यक्रममा रिकन्डिसन हाउसका सेवाहरुबारे जानकारी दिनुहुँदै कार्यक्रम सञ्चालक समेत रहनुभएका ओमप्रकाश खापुङले दक्ष, लगनशिल र केहि गर्न चाहने युवाहरुलाई रिकन्डिसनले नै सिटि सफारी किनिदिने पनि बताउनुभयो ।
‘हामी आफ्नै लगानीमा सिटि सफारी किनेर दिनेछौँ, त्यसबापत केहि निश्चित रकम तोकिएको हुन्छ उक्त सामान्य रकम बुझाएर जझारु युवाहरुले यहाँबाट सिटि सफारी लिन सक्छन् ।’ उहाँले भन्नुभयो ‘काम गर्न चाहने युवाहरु कयौँसगँ सिटि सफारी किन्न पैसा हुँदैन जसलाई मध्यनजर गर्दै हामीले यस योजना अघि सारेका हौँ ।’ खापुङ सहित नारायण लिम्बू र रसाइली ब्रदर्सको लगानीमा सञ्चालन भएको सर्भिस सेन्टरले आधुनिक मेशिनको प्रयोग गरी सेवा प्रधान गर्ने सञ्चालक लिम्बुले बताउनु भयो ।
साथै उहाँले अहिले नै यस रिकन्डिसन हाउसमा १५ जना युवाले प्रत्यक्ष रोजगारी पाइरहेको पनि बताउनुभयो । सबैसगँ यस सम्बन्धी उचित ज्ञान नभएकाले ३ जना भने भारतिय युवाहरु रहेको उहाँले बताउनुभयो ।