मेचीनगर, वैशाख २२ । भन्सार भित्रैबाट नेपाल प्रवेश गर्ने सवारीमार्फत अवैद्य सरसामान तस्करी हुने गरेको खुलेको छ । मेची भन्सार काँकरभिट्टा परिषर भित्रै गएर सुविधा काटेर नेपाल प्रवेश गरेको भारतीय सवारीमा लाखौँको सामान बरामद भएसगैँ यस्तो रहस्य बाहिरिएको हो ।
हिजो विहान एक भारतीय ट्रक भन्सार परिषर भित्रैबाट नेपाल प्रवेश गर्यो । भन्सारमा खाली सवारी भन्दै प्रज्ञापन पत्र लिएर प्रवेश गरेको ट्रकमा केहीबेरको अन्तरालमै लाखौँको अवैद्य सामान बरामद भयो ।
जुन घट्नाले प्रहरीलाई पनि एकपटक सोच्न बाध्य बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल बताउनुहुन्छ । ‘तस्करीका लागी कस्तो कस्तो उपाय अपनाइँदो रहेछ भनेर हामी नै चकित छौँ, खाली गाडीको भन्सार काट्ने अनि अवैद्य सामान भित्र्याउने ट्रेन्ड रहेछ ।’ उहाँ भन्नुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ काली खोलामा भारतीय नम्बर प्लेटको खाली ट्रक रोकेर चेकजाँच गर्दा ठुलो मात्रामा भन्सार छलीका सरसामान बरामद गर्योँ । जुन गाडी भन्सार भित्रबाटै नेपाल प्रवेश गरेको थियो ।
भन्सार प्रज्ञापन पत्र कटाएर पश्चिमतर्फ गइरहेको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा ट्रकको हुडमाथि त्रिपालले छोपेर भित्राइएको करिब ११ लाख मुल्य बराबरको अवैद्य सरसामान बरामद भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो । ट्रकको हुडमाथिबाट प्रहरीले २४ कार्टुन टायल्स, ३ हजार ७८ पिस राधेराधे गम्छा, ३५ थान रेडमी कम्पनीका मोबाइल लगायत विभिन्न प्रकारका औषधि बरामद गरेको जनाइएको छ ।
जुन घट्ना बाहिरिएसगैँ स्थानीय नागरिकहरुले भने भन्सार भित्रैबाट आएको ट्रकमा लाखौँका अवैद्य सामान भेटिनु रहस्यपुर्ण रहेको बताएका छन् । यस्ता घट्नामा भन्सार भित्रकै कर्मचारीहरुको मिलेमतो रहने गरेको एक विशेष स्रोतले जानकारी पनि दिएको छ ।
‘यस्ता घट्ना पहिलोपटक होइनन् बारम्बार भइरहन्छन्, यहाँ सेटिङ चल्छ ।’ एक निकट स्रोतले भन्यो ‘तस्करीका विभिन्न ट्रेन्ड चल्छन् यहाँ ।’ यसैगरी यस विषयमा जिल्ला प्रहरीका प्रवक्ता रिजालले भने तस्करहरुले जोसगँ पनि सेटिङ चलाउन सक्ने भन्दै यस्ता विषयमा सुरक्षानिकाय अझ गम्भिर बनेको बताउनुभयो ।
‘तस्करले कर्मचारी, प्रहरी, भन्सार जोसगँ पनि सेटिङ मिलाउन सक्छन् यद्यपी यस्ता विषयमा सुरक्षानिकाय गम्भिर बन्नुपर्छ ।’ सेतोपत्रसगँ कुराकानी गर्दै उहाँले भन्नुभयो । यसरी पूर्वीनाकाबाट भित्रिएको अवैद्य समान बरामद भएको यो पहिलो घट्ना भने होइन । बुधबार मात्रै पनि सशस्त्र प्रहरीले करिब १७ लाख मुल्य बराबरको अवैद्य सामानहरु मेचीनगरबाटै नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो ।
उक्त अवस्थामा त झन गाडी नै मोडिफाई गरेर सामान तस्करी हुने गरेको खुलेको थियो । त्यतिबेला पनि दिउँसै पूर्वी नाकाबाटै प्रवेश गरेको डब्ल्यूबी ७४ एटी ३९४० नम्बरको भारतीय कार भन्सार र प्रहरीको जाँच छिचोलेर पूर्व–पश्चिम राजमार्गको निन्दा पुल नजिक पुगेको थियो । राजमार्गमा तैनाथ सशस्त्रले पुनः जाँच गर्ने क्रममा गाडीको डिकीभित्र अवैद्य पार्टपुर्जा फेला पारेका थिए ।