मेचीनगर, वैशाख २० । आपराधिक गतिविधि नियन्त्रणसगैँ बजार व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ धुलाबारी बजार क्षेत्रमा जोडिएका कुनैपनि सिसि क्यामेरा नचल्ने अवस्था रहेको पाइएको छ । धुलाबारी मोड परिषर सगैँ उत्तर र दक्षिण क्षेत्रमा जोडिएका सबै क्यामेरा अहिले बिग्रिएका छन् । कुनै पनि क्यामेरा चल्दैनन् ।
क्यामेरा निगरानीका लागी इलाका प्रहरी कार्यालय धुलाबारीको एउटा कोठामा कम्प्युटरसहित एलइडि टिभी नै राखिएको छ । तर अहिले यी सबै संरचना बन्द अवस्थामा छन् । विगत दुई महिना भन्दा बढी समयदेखी क्यामेरा बिग्रिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल माबोहाङ बताउनुहुन्छ ।
‘कुनैपनि क्यामेरा अहिले चल्दैनन्, क्यामेरा नचल्दा शान्ति सुरक्षा कायमसगैँ आपराधिक गतिविधि नियन्त्रणमा सकछ छ ।’ धुलाबारीका प्रमुख माबोहाङ भन्नुहुन्छ ‘स्थानीय सरकारलाई जानकारी गराएका छौँ, अब मर्मत हुन्छ होला ।’
सिसि क्यामेरा बिग्रिएको भन्दा पनि अचम्मको कुरा त के छ भने यहाँ क्यामेरा मर्मत कसले गर्ने भन्ने विषयमै विवाद देखिएको छ । क्यामेरा बिग्रिएर थन्किएको दुई महिना बढी भइसक्यो तर मर्मत गर्ने तर्फ नै विवाद छ । मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले यस विषयमा सेतोपत्रसगँ प्रतिक्रिया दिँदै सिसि क्यामेरा मर्मतको जिम्मेवारी वडाको नभएको बताउनुभयो ।
‘यो नगरका कर्मचारीको चरम लापारवाही हो, यहाँ कर्मचारीको सेटिङमा काम हुन्छ, कर्मचारीले ध्यान नदिँदा यो सब लापारवाही भएको हो ।’ वडाध्यक्ष खनाल भन्नुहुन्छ ‘कर्मचारीको लापारवाहीका कारण बिग्रिएकाले यो मर्मत गर्ने काम हामीले नगरको हो ।’
मेचीनगर १० ले आफ्नो बजेटमा सिसि क्यामेरा जडानका लागी बजेट नछुट्याएको पनि होइन । सिसि क्यामेरा जडान शिर्षकमा ५ लाख बजेट छुट्याएको पनि हो । तर यो सब अवस्था देखेर उक्त शिर्षकको बजेट पूर्वाधार विकासमा खर्च गरेको अध्यक्ष खनाल बताउनुहुन्छ । कर्मचारीकै सेटिङ र लापारवाहीका कारण सिसि क्यामेरा बिग्रिएको अध्यक्ष खनालको दाबी छ ।
‘सुरक्षा क्षेत्रमा गम्भिर असर परेको छ, धुलाबारी जस्तो व्यस्त बजारका क्यामेरा बिग्रिएको छ ।’ उहाँ भन्नुहुन्छ ‘यसमा नगरका कर्मचारी जवाफदेही हुनुपर्छ, वडाले बनाउँदैन र जिम्मेवारी पनि होइन ।’ क्यामेरा बिग्रिएर नाम मात्रैको हुँदा पनि आफुलाई थाहा नभएको मेचीनगर ९ का वडाध्यक्ष कञ्चन कुमार तामाङ बताउनुहुन्छ । ‘क्यामेरा बिग्रिएको विषयमा मलाई थाहा नै छैन, म त सबै क्यामेरा चलिरहेका छन् भनिरहेको छु ।’ उहाँले भन्नुभयो ‘नगर र वडासगैँ व्यवसायीहरु समेतको सहकार्यमा जोडिएको क्यामेरा भएकाले तत्काल कार्यपालिका वैठकमा छलफल गरेर मर्मत गर्नेतर्फ लाग्नेछौँ ।’
क्यामेरा बिग्रिएको यत्रो समय बितिसक्दा समेत प्रहरी प्रशासनले आफुलाई खबर नगरेको उहाँको भनाई छ । ‘यस्तो संवेदनशिल विषयमा वडालाई थाहा दिनुपथ्र्यो, अहिलेसम्म जानकारी नै गराइएको छैन ।’ उहाँ भन्नुहुन्छ । यसैगरी यस विषयमा हामीले नगरपालिकामा पनि बुझेका छौँ । तर नगरपालिकाले समेत भरपर्दो जवाफ दिएको छैन ।
सुरक्षासगँ सम्बन्धित यस्तो संवेदनशिल विषयमा पनि नगरपाकिाले बजेट छुट्टिएको र अब मर्मत गर्ने चरणमा रहेको प्रतिक्रिया दिएको छ । नगर सुचना प्रविधि अधिकृत अशोक कुमार भेट्वालले धुलाबारीमा रहेका सिसि क्यामेरा जडानका लागी ३ लाख १६ हजार बजेट छुट्टिएको र अब मर्मत गरिने जानकारी दिनुभयो । ‘धुलाबारीका मात्रै होइन चारआलीका क्यामेरामा पनि समस्या छ, चारआलीमा ८० प्रतिशत क्यामेरा चल्दैनन् ।’ उहाँले भन्नुभयो ‘यी सबै विषयलाई मध्यनगर गरी नगरले बजेट छुट्याएको छ अब मर्मत हुन्छ ।’
उहाँका अनुसार धुलाबारीमा सिसि क्यामेरा जडान गरिएको २ बर्ष भन्दा धेरै समय भयो । यहाँ १० प्रतिशत स्थानीय उपभोक्ता समितिको लागत सहभागिता, नगरपालिकाबाट ८ लाख, ९ नम्बर वडाबाट साँढे ३ लाख र १० नम्बर वडाबाट ३ लाख बजेट लिएर क्रमश रुपमा क्यामेरा जडान गरिएको उहाँको भनाई छ ।
तर अहिले कति संख्यामा सिसि क्यामेरा छन् भनेर चाहिँ नगरपालिकालाई पनि थाहा छैन । ‘नगरले २१ वटा जोडेको हो अहिले कति छ थाहा छैन ।’ सेतोपत्रलाई जानकारी दिँदै उहाँले भन्नुभयो ।