मेचीनगर, वैशाख २० । झापाको मेचीनगर नगरपालिका वडा नं १० को कार्यालयको सेवा बन्द गरेर नै नयाँ भवनमा सारिने भएको छ । वडा अध्यक्ष नारायण खनालले सार्वजनिक सूचना जारी गरेर वैशाख २१ गते वडा कार्यालयको सम्पूर्ण सेवा बन्द गर्ने जानकारी गराउनु भएको छ ।
वडा कार्यालय नयाँ भवनमा सार्नु पर्ने भएकाले एक दिन कार्यालयको सबै सेवा प्रवाह बन्द हुने वडा अध्यक्ष खनालले बताउनु भयो । ‘सबै सामग्री नयाँ भवनमा सार्नु पर्छ,’ वडा अध्यक्ष खनालले भन्नु भयो, ‘काम गर्न अप्ठ्यारो हुन्छ त्यसैले अग्रिम सूचना गरेर कार्यालय बन्द गरेका हौं ।’ वडाबासीलाई अप्ठ्यारो नपर्ने गरी व्यवस्था मिलाएको वडा अध्यक्ष खनालले बताउनु भयो ।
वडा बासीका लागि धेरै जसो काम वडा कार्यालयबाटै हुने गरेको छ । यस्तो अवस्थामा दैनिक सयौंको संख्यामा सेवाग्राही आउने कार्यालय सार्ने नाममा सेवा नै बन्द गर्दा वडाबासीमा समस्या पर्न सक्ने मेचीनगर १० का स्थानीय बताउँछन । विदाको दिन कार्यालयका सामग्री सारेर भए पनि वडा कार्यालयको सेवा सूचारु गर्नु पर्ने स्थानीय बताउँछन ।
कार्यालय पुरै ठप्प पारेर त सामग्री सार्नु हुँदैन तर सामग्री सार्ने कामले सेवाग्राहीको काम नहुने भएकाले वडाबासीलाई अग्रीम जानकारी गराउन पनि नगरसंगको समन्वयमा नै सूचना निकालेको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताउनु भयो । ‘वडाबासीको अत्यावश्यक काम आयो भने गर्दिन भन्न पाइदैंन,’ पराजुलीले भन्नुभयो, ‘जरुरी काम पर्यो भने जसरी पनि गर्नै पर्छ ।’
वैशाख २३ गतेदेखि मेचीनगर वडा नं. १० को कार्यालय नयाँ भवनबाट सञ्चालनमा आउने भएको छ । अहिले धुलाबारी चौक पश्चिम टिमाई खोला पारी रहेको वडा कार्यालय अब पशु बजार दक्षीण तर्फ आफ्नै नयाँ भवनमा सञ्चालनमा आउन लागेको हो ।