काठमाडौं । रुसले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको खोप ‘स्पुतनिक भी’ दिने सहमति गरेको छ ।
सरकारी पहुँच प्रयोग गरेर एक निजी कम्पनीले व्यापारका लागि खोप ल्याउने सम्झौता गरेको छ । हिजो आरडीआइएफले विज्ञप्ति निकाल्दै नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख मात्रा खोज दिने सहमित भएको जनाएको हो ।
यसले नेपालको करीब ९० प्रतिशत जनसंख्यालाई कोरोनाबिरुद्धको खोप पुग्ने र नेपालका क्लिनिकमा समेत सहज रुपमा उपलब्ध गराइने बताइएको छ । रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ । फन्डले भारतमा पनि एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ ।
यो भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।
नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ल्याउने ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले जानकारी दिनुभयो ।
आरडीआइएफ रुसको स्वास्थ्य कोषबाट सञ्चालित स्वतन्त्र निकाय हो जुन सन् २०११ मा लगानीमा समानताका लागि भनेर स्थापना भएको थियो । एक खोपको २० डलर अथवा २३ सय ५६ नेपाली रुपियाँ पर्नेछ ।
तर सरकारले भने यस विषयमा औपचारिक जानकारी नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले आफूले पनि विभिन्न सञ्चारमाध्यममा आएका खबर पढेर यो विषय थाहा पाएको तर औपचारिक निर्णय र जानकारी भने नभएको बताउनु भयो । स्वास्थ्य मन्त्रालयका त्यस विषयमा छलफलगर्ने उहाँले बताउनु भयो ।
cinkhabar बाट ।