झापा, वैशाख १८ । यौन दुर्व्यवहारको आरोप लागेका झापाका पत्रकार उमाकान्त खनालले पीडित पत्रकार महिला भावना लिङदेनको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउनु भएको छ । आज प्रेस विज्ञप्ती निकाल्दै पत्रकार खनालले पीडित पत्रकार लिङदेनको मानसिक स्वास्थ्य बारे सोधपुछ गर्नु पर्ने बताउनु भएको हो ।
खनालले प्रकासित गरेको विज्ञप्तीमा भनिएको छ ‘उहाँ राम्ररी नबोल्ने, टेलिभिजनका बाहिरी कार्यक्रमहरूमा नजाने, कुनै सहकर्मीको जन्मोत्सवमा नजाने, पिकनिक नजाने हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्था कस्तो छ भन्ने बारेमा सोधपुछ गरियोस ।’
‘पत्रकारको जेन्डर हुँदैन, जुनसुकै बेला जहाँ पनि काममा जानुपर्ने हुनसक्छ । तर, नियत सही हुनुपर्छ भन्दा यौन दुर्व्यवहार हुन्छ ? पत्रकार खनालले विज्ञप्तीमा लेख्नु भएको छ, ‘बाइक हल्लियो, अलि अगाडि बस्नुन भन्दा यौन दुर्व्यवहार हुन्छ ?’
राती १२, १ बजे त्यो फलाना केटी मेरो काखमै सुत्थी, विश्वास हुनुपर्छ जस्ता कुरा भन्ने, बाइकमा कति पछाडि बसेको फलाना केटी त टाँसिएर लडाउला जस्तै गरी बस्थी जस्ता वाक्य बोलेर दुर्व्यवहार गर्ने गरेको झापा बिर्तामोडबाट प्रसारणमा रहेको सुर्योदय टेलिभिजनमा कार्यरत पीडित पत्रकार लिङदेनले सोही टेलिभिजनका तत्कालिन सम्पादक खनाललाई आरोप लगाउनु भएको थियो ।
खनालले सञ्चारिका समूहले व्यक्तिगत अधिकार कुण्ठित गरेको समेत आरोप लगाउनु भएको छ । सञ्चारिकाको विज्ञप्तिमा आपत्ति जनाउँदै खनालले पीडित पत्रकार लिङदेनको कार्यक्षमतामा प्रश्न उठाउँदै रिसवी साध्न झूटो आरोप लगाएको उल्लेख गर्नु भएको छ । गोपनीयताको ख्याल राखेर आफुले प्रचार नगरेको भन्दै स्क्रिनसट तथा भिडिओ प्रमाणहरू सुरक्षित राखेको दाबी समेत खनालले गर्नु भएको छ ।
पत्रकार लिङदेनकोमाथि पत्रकार खनालले यौन दुर्व्यवहार गरेको बिषयमा पत्रकार महिलाहरुको संगठन सञ्चारिका समूहले आइतबार विज्ञप्ती प्रकासन गरेको थियो ।घट्ना सार्वजनिक भएपछि पत्रकार खनालले टेलिभिजनबाट राजिनामा दिनु भएको छ भने दुर्व्यवहारको घट्ना सार्वजनिक गरेसंगै पत्रकार लिङदेन पत्रकारिताबाटै विस्थापित हुनु भएको छ ।


