झापा, वैशाख १५ । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आज संसदमा बोल्दै हात्ती समस्याको दीगो समाधानका लागि विभिन्न तिन वटा मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ । संसदको आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका सांसद शर्माले भन्नुभयो, ‘ सिमा पारिबाट हात्ती प्रवेश गर्ने मेची नदिको किनारमा तटबन्ध निर्माणमा बिशेष प्राथमिकताले बजेट छुट्याउन, म सिँचाइ मन्त्रालयलाई आग्रह गर्दछु, तोरी–मौरी अभियानका लागि रकम बिनियोजन गर्न कृषि मन्त्रालयलाई आग्रह गर्दछु, अनि राहतको रकम अविलम्ब दिने व्यवस्था मिलाउन वन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
हात्ती आंतकको दीगो समाधान खोज्न पनि शर्माले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । वहाँले भन्नुभयो, ‘सभामुख महोदय, हात्ती पीडित नागरिकको आग्रह छ बाहुण्डाँगीलाई चोट लाग्दा बानेश्वरलाई दुख्नुपर्छ, जनताको यो गम्भीर पिडाप्रती बिशेष गम्भीरतासाथ साथ सरकारले दीर्घकालीन हल खोज्नुपर्छ ।’
हेर्नुहोस, सांसद शर्माले संसदको आकस्मिक समयमा गर्नु भएको सम्बोधन जस्ताको तेस्तै
सभामुख महोदय,
यहाँ निर्वाचित हुनु भएको निर्वाचन क्षेत्रमा बुद्ध शान्ति गाउँपालिका पनि पर्दछ । त्यो गापाको वडा नं ५ को खारखोला अहिले शोकमग्न छ । ७० बर्षका भिमलाल भट्टराई हात्तीको आक्रमणमा मारिनु भएको छ । केही समयदेखि त्यो भेगमा हात्तीको आतंकले राज्य चलाइरहेको छ ।
१) यो १ बर्षमा त्यो वडाका ३ जना हात्तीका कारण मारिएका छन ।
१७ बर्षका युवा अजित तामाङको साँपले टोकेका कारण मृत्यु भयो, राती गाउँमा आएको हात्ती धपाउन जाँदा ।
करिब ६ महिनाअघि मंगलबारे बजारको मुखमा स्कुटिमा सवार ३५ बर्षकी महिला सम्झना श्रेष्ठ हात्तीको आक्रमणमा मारिनु भयो ।
२) करिब २१ बर्ष अघिको सम्झना झनै मार्मिक छ सभामुख महोदय, मेचिनगर ४ आलडाँगिका शम्भु थापाले भारतको लोहागढबाट प्रेम विवाह गरेर बेहुली भित्र्याएका थिए ।दुल्हन फर्काउन बाँकी थियो, हातको मेहन्दी ताजै थियो, हात्तीको आक्रमणमा परेर बेहुला शम्भु र बेहुली दुर्गा दुवै मारिए ।
३) समस्या बर्षौदेखि छ, तर आकस्मिक समयमा यसकारण उठाएको हुँ , किनकी ताजा घटना भर्खर भएको छ र यहि बेला सरकार आगामी बजेटको नीति निर्माणको क्रममा छ ।
४) हामी दुइखाले हात्तीको चपेटामा छौं ।
पहिलो, खुला सिमा भएको हुँदा भारत पश्चिम् बंगालबाट हुलका हुल भित्रीने हात्तीहरु ।
दोस्रो , स्थानीय जंगलमा रहेका रैथाने हात्तीहरु ।
५) सुशील कोइराला प्रधानमन्त्री रहनुभएको सरकारले विश्व बैंकको लगानीमा ल्त्ल्ऋ सँगको समन्वयमा मेची नदि किनारमा १८ किमि लामो सोलार फेन्सिङ निर्माण र्गयो । केही बर्ष जनजीवन सुरक्षीत भयो, जनताले बाली भित्र्याउन पाए । केही बर्ष त्यसबाट काम भयो, तर अब त्यसले नधान्ने भयो ।
६) त्यसैले सम्माननिय सभामुख महोदय मार्फत,
सिमा पारिबाट हात्ती प्रवेश गर्ने मेची नदिको किनारमा तटबन्ध निर्माणमा बिशेष प्राथमिकताले बजेट छुट्याउन, म सिँचाइ मन्त्रालयलाई आग्रह गर्दछु ।
तोरी–मौरी अभियानका लागि रकम बिनियोजन गर्न कृषि मन्त्रालयलाई आग्रह गर्दछु ।
अनि राहतको रकम अविलम्ब दिने व्यवस्था मिलाउन वन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।
७) सभामुख महोदय,
हात्ती पीडित नागरिकको आग्रह छ, बाहुण्डाँगीलाई चोट लाग्दा बानेश्वरलाई दुख्नुपर्छ । जनताको यो गम्भीर पिडाप्रती बिशेष गम्भीरतासाथ साथ सरकारले दीर्घकालीन हल खोज्नुपर्छ ।