मेचीनगर, वैशाख १२ । गत चैत २९ मा मेचीनगर २ बाट ट्याक्टरमा लोड गरिएको अवस्थामा अवैद्य गोलिया प्रहरीले नियन्त्रणमा लियो । सुकेनिन्दा खोला किनारबाट ट्याक्टरसहित नियन्त्रणमा लिइएको उक्त अवैद्य गोलिया प्रहरीले जिल्ला वन कार्यालयमा बुझायो ।
त्यसको केहीदिन पछी फेरी मेचीनगर ८ को दुर्गामन्दिरबाट प्रहरीले सखुवाको काठसहित पिकअप भ्यान नै नियन्त्रणमा लियो । सुपारीको सुकेको पत्ता ल्याएर आउँदै गरेको पिकअपलाई चेक गर्दा त्यहाँ सखुवा जातका चिरान काठ फेला परेको थियो । अर्थात तस्करहरुले सखुवा काठको ढुवानी गर्दा विभिन्न उपायहरु अपनाउछन् भन्ने यस घट्नाले पनि पुष्टि गरेको छ ।
तर यी सबै घट्नाहरु हुँदाहुँदै पनि उत्तरी मेचीनगरबाट ट्याक्टरका ट्याक्टर गोलिया ल्याउने क्रम भने रोकिएको छैन । दैनिक जसो नै ट्याक्टरमा लोड गरि विभिन्न जातका गोलिया भृकुटी इटाभट्टा हुँदै अन्यत्र गइरहेको देखिन्छ । मंगलबार विहान ६ बजेको समयमा मात्रै गोलिया लोड गरिएका दुईवटा ट्याक्टर उत्तरी मेचीनगरबाट दक्षिण आएका थिए ।
लोड गरिएका गोलिया कुन जातका हुन् ? कहाँ बाट कहाँ लगिदैँछ ? वैद्य हुन कि अवैद्य ? अनुगमन, नियमन गर्ने निकाय मौन छ । उत्तरी मेचीनगरबाट ट्याक्टरका ट्याक्टर गोलिया आइरहँदा समेत नियमनकारी निकायले खासै चासो नदेखाएको उत्तरी मेचीनगरकै एकजना स्थानीयले भन्नुभयो ।
‘गोलिया दैनिकजसो ट्याक्टरमा आउँछ, कहाँ लगेको हो ? कहाँबाट ल्याएको हो ? कुनै टुंगो छैन ।’ ति स्थानीय भन्नुहन्छ ‘उत्तरी क्षेत्रबाट ल्याएको हरे भन्ने सुनिएको छ, तर कहाँबाट हो थाहा छैन ।’ यस विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक भारतीले अवैद्य काठ ढुवानी हुने क्रमलाई मध्यनजर गर्दै चेकजाँच गरिरहेको बताउनुहुन्छ ।
‘केहीसमय अघि मात्रै पनि हामीले अवैद्य गोलिया नियन्त्रणमा लिएर वनमा बुझाएका छौँ, हामी चेकजाँच निरन्तर गरिरहेका छौँ ।’ उहाँ भन्नुहन्छ ‘अवैद्य काठ ढुवानी हुने आशंकाका साथ हामी सक्रिय छौँ ।’ यसैगरी उत्तरी मेचीनगरकै एकजना स्थानीयको भनाई अनुसार यसरी ट्याक्टरमा लोड भएर आउने गोलिया प्लाई फ्याक्ट्री, लगायत विभिन्न कारखानामा लगिने गरेको छ । ‘निजी आवाधीका रुखहरु काटेर ट्याक्टरमा लगिने गरेको छ ।’ ति स्थानीय नागरिक भन्नुहुन्छ ‘भेनियर, प्लाई फ्याक्ट्रीमा लाने गरेको भनेर सुनिन्छ ।’
दैनिकजसो नै रुख काटेर ढुवानी भइरहेकाले यसले वातावरणमा समेत असर पर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।