झापा, वैशाख १० । झापाको भद्रपुर नगरपालिका वडा नं ९ स्थीत पुहाँतु जनज्योति माद्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षले सोही विद्यालयका शिक्षकसंग ५० लाख रूपैया घुस मागेको खुलासा भएको छ । पुहाँतु जनज्योति माविका व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले सोही विद्यालयका शिक्षक श्रीजना प्रसाई र डिल्लिराम अधिकारीसंग ५० लाख माग्नु भएको खुल्न आएको हो ।
विद्यालय व्यवस्थापन समितिले निमावि शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्न गरेको निर्णय विरूद्ध अदालत गएर समितिको निर्णय उल्टाएको भन्दै पुहातु जनज्योति माविका व्यवस्थापन समितिका अध्यक्ष मिश्रले विद्यालयका स्थायी शिक्षकद्वय प्रसाई र अधिकारीलाई वैशाख ५ गतेदेखि हाजिर गर्न रोक लगाउनु भएको छ । मावि शिक्षक प्रसाई र प्रावि शिक्षक अधिकारीले ५० लाख रूपैया जम्मा गरे हाजिर गर्न दिने अध्यक्ष मिश्रले बताएको अडियो रेकर्ड सेतोपत्र डटकमले फेला पारेको छ । मिश्रले एक जना शिक्षक नेतालाई फोनमार्फत ५० लाख दिए विद्यालयमा हाजिर गर्न दिने बताउनु भएको हो ।
‘एउटा कुरा म सरलाई भन्छु, ५० लाख रूपैया जम्मा गरून, माफ मागुन सबथोक हुन्छ ल ।’ सेतोपत्रलाई प्राप्त टेलिफोन कुराकानीमा अध्यक्ष मिश्रले यस्तो भनेको स्पष्ट सुनिएको छ । शिक्षक प्रसाई र अधिकारीलाई लक्षीत गर्दै टेलिफोन कुराकानीमा मिश्रले भन्नुभएको छ, ‘तिनिहरु हुन चैं को ?, म अब कुनै कुरा सुन्दिन, मर्नु पर्छ अनि मात्रै हुन्छ नत्र केही हुँदैन ।’ अध्यक्ष मिश्रले अन्यथा शिक्षक प्रसाई र अधिकारीलाई कुनै हालतमा विद्यालयमा हाजिरी हुन नदिने बताउनु भएको छ । टेलिफोनकै क्रममा मिश्रले पैसा दिन नसक्ने भए अरू तिरै सरूवाको व्यवस्था मिलाउन समेत ति शिक्षक नेतालाई आग्रह गर्नु भएको छ ।
विद्यालयमा मावि शिक्षक हुदा हुँदै अध्यक्ष मिश्रकै जोडबलमा कानून विपरित निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्थापन समितिले २०७८ फागुन १२ गते निर्णय गरेको थियो । उक्त निर्णय विरूद्ध मावि तहकी शिक्षक प्रसाईले उच्च अदालत इलाम ईजलासमा रिट हाल्नु भएको थियो । उत्त रिटमा अन्तरिम आदेश जारी गर्दै अदालतले पोखरेललाई प्रधानाध्यापकका रूपमा काम नगर्नु भनेको थियो । अदालतको अन्तरिम आदेश पछि मावि तहकी बरिष्ठतम शिक्षक कौशल्यादेवी आचार्यलाई व्यवस्थापन समितिले २०७९ असोज ३० गते प्रधानाध्यापक नियुक्त गर्ने अर्को निर्णय गरेको थियो । विद्यालयले मावि तहकी बरिष्ठतम शिक्षक आचार्यलाई प्रधानाध्यापक नियुक्ति गरेको निर्णय अदालतमा पठाए पछि सो सम्बन्धीको रिट अदालतले खारेज गरेको थियो ।
तर आफ्नो निर्णय बिरूद्ध अदालत गएको भन्दै रिसको झ्वाँकमा नयाँ शैक्षिक सत्रको पहिलो दिन वैशाख ५ गते विद्यालय पुगेका शिक्षक प्रसाई र अधिकारीलाई व्यवस्थापन समितिका अध्यक्ष मिश्र स्वयम उपस्थित भएर हाजिर गर्न रोक लगाउनु भएको छ । त्यस यता हरेक दिन अध्यक्ष मिश्र स्वयम विद्यालय आउने र हाजिर गर्न नदिने गरेको पिडित शिक्षक प्रसाईले बताउनु भयो । प्रसाई र अधिकारीले कानूनी रूपमा सहि कुरा उठाएको भन्दै अन्य तिन जना शिक्षकले समेत सोही दिनदेखि हाजिर गरेका छैनन ।
विद्यालयमा कार्यरत शिक्षक सुमित्रा पौडेल, कमला राई र शर्मिला अधिकारीले विद्यालय प्रशासनले प्रसाई र अधकारीलाई हाजिर नगराउन्जेल आफुहरूले समेत हाजिर नगर्ने बताएका छन ।
विद्यालयले हाजिर गर्न नदिए पनि ति पाँचै जना शिक्षकले सादा कागजमा हाजिरी गरेर भए पनि नियमानुसार दैनिक विद्यालयमा उपस्थीति जनाईरहनु भएको छ । विद्यालय प्रसाशन र व्यवस्थापन समितिले भने विद्यालयले नै व्यवस्था गरेको शिक्षक कक्षबाट समेत ति पाँच जना शिक्षकलाई बाहिर निकालेर ताला लगाईदिएको छ । शिक्षक कक्षमा ताला लगाईदिए पछि ति पाँच जना शिक्षकलाई अहिले दैनिक विद्यालयको खुला मैदानमा बस्न बाध्य बनाइएको छ । विद्यालयका अन्य शिक्षकलाई भने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसंगै प्रशासन कक्षमा बस्न भनिएको छ ।