झापा, वैशाख १० । नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक पाँच बुँदे धनकुटा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नबोदितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानुन निर्माण गर्न दवाब दिन जोड दिएको छ । त्यस्तै, आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गरेको प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले बताउनुभयो ।
त्यस्तै, घोषणापत्रमा धनकुटाको पर्यटन विकासका लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यम मार्फत प्रबर्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्नेमा जोड दिएको छ ।
बैठकले प्रेस युनियन कोशी प्रदेशको सचिवालय समिति समेत गठन गरेको छ । सात सदस्यीय समितिमा अध्यक्ष मिनकुमार श्रेष्ठ, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव सञ्जिव वाग्ले, जयन्तीकला तामाङ, विनय वाराकोटी, कविराज घिमिरे र दिनेश गरी रहने निर्णय गरिएको महासचिव वाग्लेले जानकारी दिनु भयो ।
बैठकले उपाध्यक्ष निरौलाको संयोजकत्वमा ६ सदस्यिय अनुशासन समिति समेत गठन गरेको छ । समितिका सदस्यमा आशिष यादव, निरोज कोइराला, सुजन बज्राचार्य, कल्पना कडरिया र चुमन बस्नेत रहनु भएको छ ।
प्रेस युनियनको बैठकले उपाध्यक्ष शारदा तामाङको संयोजकत्वमा सरला रेग्मी र निषा दाहाल सदस्य रहेको महिला विभाग समेत गठन गरेको छ । त्यस्तै बैठकले महासचिव वाग्लेको संयोजकत्वमा संगठन विभाग पनि गठन गरेको छ ।
बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डिल्लीराम खतिबडा, उपमहासचिब अभय राई, सल्लाहकार लिला बल्लब घिमिरे, प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङसहित प्रदेशका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठक धनकुटा नगरपालिका –४, दानाबारीस्थित नुनथला होमस्टेमा वैशाख ८ र ९ गते सम्पन्न भएको हो ।