झापा, बैशाख ८ । झापाको भद्रपुर ९ स्थीत पुहाँतु जनज्योति माविमा स्थायी शिक्षकलाई हाजिरी गर्न रोक लगाईएको छ । सोही विद्यालयमा लामोसमयदेखि अध्यापन गराईरहेका पाँच जना शिक्षकलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षले हाजिरी गर्न रोक लगाएका हुन ।
विद्यालयका अँग्रेजी बिषयका मावि तहका शिक्षक श्रीजना प्रसाई, विज्ञान बिषयका मावि तहका शिक्षक कमला राई, निमाविका गणित बिषयका सुमित्रा पौडेल, निमावि तहका डिल्लिराम अधिकारी र प्रावि तहका शर्मिला अधिकारीलाई बैशाख ५ गतेदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमानन्द मिश्र र शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालको ठाडो आदेश र अवरोधका कारण दैनिक हाजिरीमा रोक लगाईएको छ ।
बरिष्ठतम शिक्षकलाई प्रधानाध्यापक बनाउनु पर्छ भन्ने आवाज उठाउँदा पाँच जना शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले अघोषित सजाए दिइरहेको छ । हाजिरी गर्न नदिने देखि महिला शिक्षकहरुलाई दुर्व्यवहारसम्मको काम व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिबाट भइरहेको ति शिक्षकहरुले गुनासो गर्नु भएको छ ।
नियमित कक्षामा गएर पढाइरहेका शिक्षकहरुलाई दैनिक हाजिरीमा रोक लगाउन नपाईने भए पनि आफुले गरेको गलत निर्णयलाई ढाकछोप गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै बिद्यालयमा दैनिक उपस्थीत भएर शिक्षकहरुलाई हाजिरी गर्न अवरोध गरिरहेको खुल्न आएको छ । ‘बैशाख ५ गतेदेखि अध्यक्ष आफैं बिहान १० बजे नै विद्यालय आउनु हुन्छ,’ हाजिर गर्न नदिएका एक शिक्षकले भन्नुभयो, ‘प्रशासन कक्षमा बसेर तपाईहरुले हाजिर गर्न पाउनु हुन्न, काहाँ जानु छ गए हुन्छ भन्दै हाजिर गर्न दिनु हुन्न ।’
‘हामी नियमित कक्षमा गएर विद्यार्थीलाई पढाउने काम गरिरहेका छौं तर हाजिरी गर्न भने पाइएको छैन,’ शिक्षक श्रीजना प्रसाईले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षबाट महिला शिक्षकहरुमाथि दुर्व्यवहार समेत भएको अर्का शिक्षक सुमित्रा पौडेलले बताउनु भयो । वहाँले भन्नुभयो, ‘कक्षामा पढाईरहेको बेला पिटिए अध्यक्ष कोठामा पसेर अपशब्द प्रयोग गर्ने, कालोमोसो दल्दीन्छु भन्ने, ट्वाइलेटमा थुन्दीन्छु भनेर धम्क्याउने समेत गर्नुहुन्छ ।’
‘हामी बस्ने शिक्षक कोठामा समेत ताला लगाइएको छ,’ शिक्षक डिल्लीराम अधिकारीले भन्नुभयो, ‘हामी पाँच जना अहिले चौरमा बस्नु परेको छ ।’ अधिकारीका अनुसार पहिला सबै शिक्षकहरु विद्यालयको शिक्षक कक्षमा नै बस्ने गरेका थिए । तर केही समय अघिदेखि पाँच जना बाहेकका शिक्षकलाई प्रशासन कक्षमा बस्न भनियो । त्यस पछि शिक्षक कक्षमा समेत ताला लगाइयो । शिक्षक कक्षमा बस्न नदिएको र ताला लगाइदिएको कुरा व्यवस्थापन समितिका अध्यक्ष मिश्र गर्वसाथ सुनाउनु हुन्छ । ‘वहाँहरु बस्ने कोठामा हामीले बस्न नदिएकै हो,’ अध्यक्ष मिश्रले भन्नुभयो, ‘हामीले ताला लगाइदेका छौं ।’
विद्यालयको अनुशासन र शिक्षकको आचारसंहिता उल्लघंन गरेका कारण पाँच जना मध्ये दुई जनालाई हाजिर गर्न नदिएको तर पाँच जनाले नै हाजिर नगरेको समितिका अध्यक्ष मिश्रले बताउनु भयो । ‘हामीले दुईजनालाई मात्रै हाजिरीमा रोक लगाएका छौं’ अध्यक्ष मिश्रले भन्नुभयो, ‘डिल्लिराम अधिकारी र श्रीजना प्रसाईलाई कुनै पनि हालतमा हाजिर गर्न दिदैनौं तर अन्य तिन जना शिक्षकलाई हाजिर गर्न रोक लगाएका छैनौं तर वहाँहरुले पनि हाजिरी गर्नु भएको छैन ।’
२०७८ फागुन १२ गतेका दिन मावि तहका शिक्षकहरु हुँदा हुँदै निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक बनाउने विद्यालय व्यवस्थापन समितिको निर्णय माथि असहमति जनाउँदै शिक्षक श्रीजना प्रसाईले उच्च अदालत इलाममा आफु मावि शिक्षक भएकाले आफुलाई प्रधानाध्यापक बनाउन रिट हाल्नु भएको थियो । उक्त रिट परे पछि व्यवस्थापन समितिले बनाएका प्रध्यानाध्यापक पोखरेललाई कामकाज नगर्नु भनि अदालतले अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशबाट बच्न व्यवस्थापन समितिले २०७९ असोज ३० गते विद्यालयका बरिष्ठतम मावि शिक्षक कौशल्यादेवि आचार्यलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको थियो । जसलाई अदालतले समेत सदर गरेको छ ।
अदालतले नै बरिष्ठतम शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्न आदेश गरे पछि हामीले नयाँ प्रधानाध्यपक आचार्यलाई गर्वसाथ स्वीकार गरी नियमित काम गरिरहेकै अवस्थामा नयाँ शैक्षिक सत्र शुरु भएपछि विद्यालय जाँदा बैशाख ५ गतेदेखि अचानक आफुहरुलाई हाजिरीमा रोक लगाएको शिक्षक प्रसाईले बताउनु भयो । ‘हाम्रो माग नै बरिष्ठतम शिक्षकलाई प्रधानाध्यापक बनाउनु पर्छ भन्ने थियो,’ प्रसाईले भन्नुभयो, ‘तर कौशल्या मेडमले मुद्दामा जाने आँट नगरेका कारण मैले आफुलाई प्रधानाध्यापक बनाउन माग गर्दै अदालतमा रिट हालेकी हुँ ।’ प्रसाईलाई सहयोग गरेकै कारण शिक्षक अधिकारीलाई समेत विद्यालयले हाजिरीमा रोक लगाएको हो । वहाँहरुलाई साथ दिने अन्य तिन जना शिक्षक पौडेल, अधिकारी र राईले समेत हाजिरी गर्न मान्नु भएको छैन । ‘हाम्रो एउटै मुद्दा हो,’ शिक्षक कमला राईले भन्नुभयो, ‘हाम्रा दुई जना साथिलाई हाजिर गर्न नदिउन्जेल हामी पनि हाजिर गर्दैनौं ।’
पछिल्लो पटक फागुन २९ गते नयाँ प्रधानाध्यापक आचार्यलाई फेसबुक मार्फत बधाई दिने नाममा शिक्षक प्रसाईले विद्यालय परिवारमाथि गभ्भिर आरोप लगाएका कारण हामीले हाजिर गर्न नदिएको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले बताउनु भयो ।
‘वहाँहरुको पढाउने क्षमतामा हाम्रो कुनै प्रश्न छैन तर शिक्षकले पालना गर्नु पर्ने अनुशासन वहाँहरुले पालना नगरेका कारण हामीले वहाँहरुलाई हाजिरीमा रोक लगाएका हौं,’ कटुवालले भन्नुभयो ।
यो बिषयमा सेतोपत्र डटकमले विद्यालयमा नै पुगेर रिपोर्टिङ्ग गरेको हो । यो सबै प्रसङ्गका बारेमा सोधपुछ गर्ने क्रममा विद्यालयका प्रधानाध्यपक आचार्यलाई भने व्यवस्थापन समितिका अध्यक्ष मिश्र र शिक्षक अभिभावक संघका अध्यक्ष कटुवालले बोल्न दिनु भएन । संगै बसेर कुराकानी गर्दा समेत प्रधानाध्यापकलाई सोधिएको प्रश्नमा समेत वहाँलाई बोल्न नदिई अध्यक्ष मिश्र र कटुवालले नै जवाफ दिनु भएको थियो ।