मेचीनगर, वैशाख ६ । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले ६ जना उत्कृष्ट सदस्यहरुलाई आज सम्मान गरेको छ ।
सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विभिन्न विधामा ६ जना सदस्यलाई सहकारीले सम्मान गरेको हो । जसमा नियमित बचतकर्ताका रुपमा ज्येष्ठ नागरिक तर्फ खडानन्द सुवेदी र जुजुप्यार प्रधान सम्मानित हुनुभएको छ भने उत्कृष्ट नियमित बचतकर्ता तर्फ राजकुमार ढुंगाना, उत्कृष्ट उद्यमी सदस्य तर्फ सरिता खत्री, सक्रिय सदस्य तर्फ शान्ता गिरी र उत्कृष्ट वाल बचतकर्ताका रुपमा ब्रिजेश राउत सम्मानित हुनुभयो ।
कार्यक्रममा सम्मानितहरुलाई प्रमुख अतिथी मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओली, अतिथी मेचीनगर ७ की वडासदस्य मिनमाया सुब्बा, संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सञ्चालक समितिका सदस्य तुलसीराम गौतम संस्थाका अन्य पदाधीकारी लगायतले सम्मानपत्र सहित खदा ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी ओलीले पछिल्ला समय सहकारीका सम्बन्धमा फैलिएका हल्लाका पछी नलाग्न आग्रह गर्नुभयो । ‘सहकारीमा ऋण खाने अनि नतिर्ने भनेर जुन हल्ला छ, यसको पछी नलाग्नुहोला ।’ उहाँले भन्नुभयो ‘एउटै सहकारीमा लाग्नुस, एउटैलाई माया गर्नुस, त्यसैलाई दर्बिलो बनाउनुस, २० वटा सहकारीमा नलाग्नुस ।’
साथै उहाँले महिलाहरुले अब आफैँ पहिचानका निम्त्ति लड्दै समाज हाँक्न अग्रसर हुनुपर्ने पनि बताउनुभयो । ‘अब हरेक विकास निर्माणका काममा महिलाहरु अघि सर्नुपर्छ, उपभोक्ता समितिको नेतृत्व महिलाले गर्नुपर्छ आफैँ अग्रसर हुनुपर्छ ।’ उहाँले भन्नुभयो ‘वित्तिय संस्थाहरुले महिलाहरुलाई नेतृत्वयदायी बनाउन ठुलो भुमिका खेलेका छन् ।’
संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले औचित्य माथी प्रकाश पार्नुभएको कार्यक्रममा इटाभट्टा सेवा केन्द्रकी प्रमुख मनिषा तिम्सिनाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका शिक्षा तथा तालिम उपसमिति संयोजक कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो । इटा्भट्टा स्थित किरात याक्थुम चुम्लुङ भवनमा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाकी विभागीय प्रमुख ज्योती पराजुलीले गर्नुभएको थियो ।
‘नीति, विधि र प्रविधिमा अब्बल सहकारी’
विं सं २०६९ साल श्रावण १४ गते ५ वटा गाविसलाई समेट्दै १८ लाख ५० हजार पुँजीबाट शुरु भएको यस सहकारीले अहिले तिन जिल्ला (झापा, मोरङ सुनसरी) मा आफ्नो सेवा केन्द्र विस्तार गरिसकेको छ । २०७९ चैत मसान्तसम्मको तथ्यांक अनुसार यस सहकारीमा ३३ हजार २ सय शेयर सदस्य छन् भने ८ हजार वालबचतकर्ता छन् ।
२ सय ९३ कर्मचारीले सेवा दिइरहेको यस सहकारीको शेयर पुँजी मात्रै १९ करोड पुगेको छ भने १ अर्ब ५ करोड बचत रकम रहेको जनाइएको छ । १ अर्ब ७७ करोड रकम संस्थाले लगानी गरेको समेत आज कार्यक्रममा सहकारी संस्थाका बारेमा जानकारी दिनुहुँदै लेखा सुपरीवेक्षण समिती संयोजक कृष्णराज कट्वालले बताउनुभयो ।
उहाँका अनुसार ३ जिल्लामा गरी ३० सेवा केन्द्र विस्तार भएका छन् जसमा मेचीनगरमा मात्रै ४ वटा सेवा केन्द्र छन् । कार्यक्रममार्फत सहकारीको तरलता १७ प्रतिशत रहेको पनि जानकारी गराइएको थियो । ‘हाम्रो सहकारीको तरलता १७ प्रतिशत छ अर्थात हामी तरलताका हिसाबले अब्बल छौँ ।’ कार्यक्रममा सहकारी विवरण बारे जानकारी दिँदै लेखा सुपरीवेक्षण समिती संयोजक कट्वालले भन्नुभयो ‘हाम्रो सहकारी नीति, विधि र प्रविधिमा पनि उत्तिकै अब्बल छ ।’