झापा, बैशाख ५ । शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै झापाको काकरभिट्टा मावि बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कानून बिपरीत ४० बर्ष उमेर नाघेकालाई उच्च मावि दरबन्दीमा शिक्षक नियुक्ती गरेको भन्दै अख्तियारको केन्द्रीय कार्यालयमा अनलाईन मार्फत उजुरी दर्ता भएको हो ।
‘अनलाईनबाट गरीएको उजुरी सिधै केन्द्रीय कार्यालयमा दर्ता हुन्छ,’ अख्यियारको इटहरी कार्यालयका सूचना अधिकारी निरज देवले भन्नुभयो, ‘उजुरीका बारेमा केन्द्रले नै छानविन गरी अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडी बढाउँछ ।’
अख्तियारमा उजुरी दर्ता भएको बिषयमा विद्यालयलाई कुनै जानकारी नभएको प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताउनु भयो । ‘विद्यालयले प्रक्रिया पुर्याएर शिक्षक नियुक्ति गरी अभिलेखिकरणका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पठाएका छौं,’ प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, ‘अहिलेसम्म अभिलेखिकरण भएर आएको छैन ।’
उच्च मावि दरबन्दीमा शिक्षक नियुक्तिका लागि कानूनले स्पष्ट व्याख्या नगरेकाले हामीले ‘सामुदायिक उच्च माद्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१’ लाई आधार मानेर शिक्षक नियुक्ति गरेको प्रधानाध्यापक न्यौपानेले बताउनु भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७९ मंसिर २७ गते नै शिक्षा विकास तथा समन्वय इकाईका नाममा जारी गरेको निर्देशनमा उक्त निर्देशिका बमोजिम शिक्षक नियुक्ति गर्दा आयोगबाट हुने तोकिए बमोजिमको पहिलो बिज्ञापनमा मात्रै शिक्षकको न्यूनतम उमेरहद नलाग्ने भनेको छ । संगैमा उक्त निर्देशनमा नै सो बाहेकको अवस्थामा जुनसुकै किसिमबाट उच्च माद्यमिक शिक्षकको पदमा नियुक्ति भई कार्यरत रहेको भएता पनि उच्च माद्यामिक तर्फको दरबन्दी÷अनुदान कोटाबाट शिक्षक नियुक्ति गर्दा न्यूनतम र अधिकतम उमेर हद लाग्ने उल्लेख छ ।
काकरभिट्टा माविमा उक्त निर्देशिकाबाट यस अघि नै दुई जना शिक्षकहरु भगिरथ भण्डारी र टिकाराम पौडेल नियुक्ति भईसकेको प्रधानाध्यापक न्यौपानेले स्वीकार गर्नु भयो । सोही दरबन्दीमा कार्यरत शिक्षक भण्डारीले अवकाश पाए पछि पदपुर्ति गरेको न्यौपानेले बताउनु भयो ।
प्रधानाध्यापक न्यौपाने कै भनाईले पनि उक्त निर्देशिका बमोजिम काकरभिट्टा माविले दोस्रो पटक उच्च मावि दरबन्दीमा शिक्षक नियुक्ति गरेको पुष्टि हुन्छ । जसबाट निर्देशिकामा भनिए अुनसार, पहिलो पटकको विज्ञापन बाहेको जुनसुकै किसिमबाट उच्च माद्यमिक शिक्षकको पदमा नियुक्ति भई कार्यरत रहेको भएता पनि उच्च माद्यामिक तर्फको दरबन्दी वा अनुदान कोटाबाट शिक्षक नियुक्ति गर्दा न्यूनतम र अधिकतम उमेर हद लाग्ने व्यवस्थाको काकरभिट्टा माविले ठाडो उल्लघंन गरेको उजुरीकर्ताको भनाई छ ।
‘शिक्षक नियुक्तिको प्रक्रिया शिक्षा विकास तथा समन्वय इकाईमा पुगेको छ,’ प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, ‘अब त्याहाँबाट जे निर्णय आउँछ हामी त्यही अनुसार अगाडी बढ्छौं ।’ अहिले उच्च मावि तह नै नरहेको र उच्च माद्यामिक शिक्षा परिषद समेत खारेज भइसकेको अवस्थामा पुरानो निर्देशिकाको आधारमा गरिएको उच्च मावि दरबन्दीको शिक्षक नियुक्तिको बिषयमा अध्ययन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विकले बताउनु भयो । ‘विद्यालयले शिक्षक नियुक्ति गरेर पठाएको छ,’ वहाँले भन्नुभयो, ‘त्यसको प्रक्रिया हेर्ने काम भइरहेको छ ।’
उच्च मावि दरबन्दीको ‘व्यवशायिक अध्ययन’ बिषयको शिक्षक नियुक्तिमा अनियमितता गरी कानून बिपरीत उमेरहद नाघेका व्यक्तिलाई नियुक्ति दिएको भन्दै विद्यालयले लिएको परीक्षामा सामेल भएका मध्येबाटै अख्तियारमा उजुरी दर्ता भएको परीक्षामा सहभागिमध्येका एकले सेतोपत्रलाई जानकारी दिनु भयो । २०७९ फागुन ५ गते शिक्षक पदपुर्तिका लागि विद्यालयले सूचना जारी गरेको थियो । उक्त बिषयमा विद्यालयले छनौट समिति गठन गरी फागुन २६ गते परीक्षा लिएर ४० बर्ष नाघेका फाल्गुनी दाहाललाई नियुक्ति गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो । उक्त परीक्षामा फाल्गुनी बाहेक अनोज दाहाल, पारस दाहाल, रोहित बराल र नविन गौतम सहभागि हुनु भएको थियो ।