मेचीनगर, वैशाख ३ । काँकरभिट्टाबाट बाहुण्डागीँ गाडागल्ली हुँदै सलकपुर जाने सडक स्थानीयले बन्द गरेका छन् ।
ठेकेदारको लापारवाही, सम्बन्धित निकायको बेवास्ता लगायतका कारण निर्माण थालिएको सडक अलपत्र छाडिएको र धुलाका कारण बस्न सक्ने अवस्था नै नभएको भन्दै स्थानीयले हिजोदेखी विभिन्न ठाउँमा ढाट नै राखेर बाटो बन्द गरेका हुन् । स्थानीय पवन प्रधानका अनुसार मेचीडाँगीदेखी उत्तर स्वामीचोकसम्म ढाट राखेर सडक बन्द गराइएको छ ।
‘२ बर्ष अगाडी ठेक्का लागेर निर्माण समेत थालिएको सडक अहिले भने अलपत्र छ, आलडाँगीदेखी स्वामीचोकसम्म कालोपत्रे गर्ने भनेर निर्माण थालिएको थियो तर मेचीडाँगीसम्म मात्रै कालोपत्रे गरेर छाडिएको छ ।’ स्थानीय पवन प्रधानले भन्नुभयो ‘धुलो धुँवाका कारण बस्न सक्ने अवस्था छैन, सम्बन्धित पक्षलाई बारम्बार ताकेता गर्दा बाहना बनाउने काम मात्रै भएको छ ।’
जसका कारण बाध्य भएर सडक नै बन्द गराउनुपरेको उहाँले बताउनुभयो । सडकमा पानी हालेर सञ्चालन गर्न माग गर्दा समेत यस विषय सुनुवाई नभएको उहाँ बताउनुहुन्छ । स्थानीयले सुचना नै राखेर सडकमा ढाट लगाएका छन् । ‘यस बाटो बन्ने भरपर्दो आधार नभएसम्मका लागी अनिश्चितकालसम्मका लागी बाटो बन्द गरिएको सुचना गराइन्छ ।’ स्थानीयले राखेको सुचनामा लेखीएको छ ।
यता यस विषयमा मेचीनगर नगरपालिका वडा नं १ का वडाध्यक्ष रामकुमार राईसगँ बुझ्दा वडाले आवयश्यक पहल गरिरहेको उहाँले बताउनुभयो । ‘सडक बन्ने चरणमा थियो, केही स्टमेट तथा प्राविधिक त्रुटीका कारण बिचमै रोकिन पुग्यो, हामी सडक निर्माणका निम्त्ति पहल गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो ।
इलामको रोङ गाउँपालिका स्थित सलकपुर, रम्याङ, जिरमले लगायतका स्थानलाई सिधा काँकरभिट्टासगँ जोड्ने यस सडक यात्रा सगँसगैँ सागसब्जी, सलकपुरमा उब्जिएका फलफूललाई पूर्वी बजारसम्म ल्याउन अत्यन्तै महत्वपुर्ण मानिन्छ ।