मेचीनगर, वैशाख २ । ‘रोगले पनि गरिबलाई नै धेरै सताउँदो रहेछ ।’ मेचीनगर ७ प्यारीभिट्टा निवासी ७० बर्षिय धन बहादुर खत्री बेला बेला यस्तै सोच्नुहुन्छ । २०५७ सालदेखी बाँसको झुप्रो हालेर मेचीनगरको एउटा वस्तीमा जिवन कटाइरहनुभएका धनबहादुर ७० बर्षको उमेरमा क्सान्सर पिडीत बन्नुभयो ।
सडक बनाउने काम, बाटा खन्ने काम, मिस्त्रीसगँ घर बनाउने काम पहिला पहिला खासै ठुला लाग्दैन थिए उहाँलाई । यस्तै मजदुरी गर्दै छोरा छोरीलाई जिवन चिनाउनुभएका उहाँ आज आफ्नै जिवन हराएछ की भनेर खोज्दै हुनुहुन्छ । गत असारको कुरा हो घर अगाडी सडक बनाउने काम गर्दागर्दै उहाँको हात दुख्न थाल्यो ।
हात त दुखेको हो नि भन्दै केहीसमय त यत्तिकै बस्नुभयो उहाँ । तर दुखाइ बढ्दै गएपछी उपचार नगरी पारै लागेन । भारतको सिलीगुडी गएर उपचार गराउन थाल्नुभयो । ‘सबैले उपचार गर्नुपर्छ भनेर भने अनि आफुसगँ भएको अलिअलि पैसा बोकेर सिलीगुडी गएँ ।’ उहाँ भन्नुहुन्छ ‘सिलीगुडीमा उपचारका लागी मात्रै ८-९ पटक गएँ, तर पार लागेन ।’
सिलीगुडीबाट उपचार सम्भव नभएपछी उहाँ धरानको घोपा पुग्नुभयो । असोजको कुरा हो उपचारका क्रममा उहाँलाई घाँटीमा क्यान्सर संक्रमण भएको पुष्टि भयो । त्यसपछी उहाँ चितवनको भरतपुर हुँदै झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालसम्म दौडिरहनुभयो । ‘आफुसगँ भएको केही रकम त शुरु मै सकिहाल्यो त्यसपछी ऋणपान गरेर उपचार गरिरहेँ ।’ उहाँ भन्नुहुन्छ ‘अहिलेसम्म आइपुग्दा करिब ७ लाख रकम सकिसक्यो ।’
परिवारको आर्थीक अवस्था अत्यन्तै कमजोर रहेकाले यसपछीको उपचार गराउनै नसक्ने अवस्थामा छ यतिबेला खत्री परिवार । १२ धुर जग्गामा टिनको छाना र बाँसको टाटीको साहरामा बसिरहेको परिवारले टोल छिमेक, इष्टमित्र सबैको सहयोगमा उपचार गरिसक्यो । तर अझैपनि ३ लाख रकम उपचारमा लाग्ने डाक्टरले बताएका छन् ।
‘परिवारको अवस्था एकदमै कमजोर छ, १२ धुर जग्गामा घर बनाएर २ परिवार बसेका छन् ।’ खत्री परिवारलाई सहयोगको अपिल गर्दै स्थानीय प्यारीभिट्टा जनता टोल विकास संस्थाका अध्यक्ष घनश्याम लामीछाने भन्नुहुन्छ ‘टोल विकास संस्था हरसम्भव सहयोगका निम्त्ति लागेको छ हजुरहरु पनि सबैले सहयोग गरिदिन अपिल गर्दछु ।’
‘कतिपय मान्छेले त जग्गा बेचेर उपचार गर्नु नि पनि भनेका छन्, तर उपचारकै क्रममा जग्गा बेच्यो भने ऋणपान छ, उपचार गर्दाओर्दा पैसा त सकिहाल्छ ।’ धनबहादुरको उपचारमा सहयोग गरिदिन अपिल गर्दै टोल अध्यक्ष भन्नुहुन्छ ‘२ छोरा छन् बुहारी छन् नाती नातीना छन् यीनीहरु सुकुम्बासी बन्नेछन् यीनीहरु कहाँ गएर बस्ने ?’
बुबाका उपचारका लागी अब ३ लाख आवयश्यक पर्छ भनेर डाक्टरले भनेका उहाँका ज्वाइँ गणेश बस्नेतले बताउनुभयो । ‘बुबाका उपचारका लागी अब ३ लाख आवयश्यक छ, परिवारले जुटाउन सक्ने अवस्था नभएर यहाँहरुसम्म सहयोगका निम्त्ति अपिल गरेका हौँ ।’ ज्वाइँ बस्नेतले भन्नुभयो ।
आज प्रेस क्लब मेचीनगरले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा खत्री परिवारले सहयोगका लागी सबै समक्ष अपिल गरेको हो ।