मेचीनगर, चैत २९ । खोज पत्रकारिता संकटमा परेको भन्दै सञ्चारविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
हिजो मेचीनगरमा सम्पन्न अन्तरसीमा तथा मानव अधिकार पत्रकारिता सम्बन्धी एक दिने प्रशिक्षणमा सञ्चारविद्हरुले खोज पत्रकारिता हराएको र पत्रकारिताको न्युनतम सिद्धान्त नै बिर्सिएर प्रचारको पत्रकारिता भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा दि काठमाण्डु पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय र नेपाल मानवअधिकार पत्रकार संघ (हुर्जा) का अध्यक्ष तथा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक घनश्यम खड्काले प्रशिक्षण दिनुभएको थियो । ‘हामी खोजी गर्न छाडयौँ, हाम्रो भाषाको शुद्धता हराउँदै गयो, समाचार लेखन्को विषयमा हामी गम्भिर बन्न छाड्यौँ भने हाम्रो पत्रकारिता कसरी उत्कृष्ट बन्न सक्छ ।’ प्रशिक्षण दिँदै कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक खड्काले भन्नुभयो ‘नकरात्मक समाचार यति चाँडै भाइरल हुने समयसगँ प्रतिस्पर्धा गरिरहेका छौँ हामी त्यसैले नयाँपन, दुरदराजका आवाजहरु, सामाजिक परिवर्तनका विषयहरु हामीले खोज्नैपर्छ, लेख्नैपर्छ ।’
प्रशिक्षण दिनुहुँदै उहाँले पत्रपत्रिकामा समाचार, फिचर र आलेख छापिने भन्दै समाचार विभिन्न कोणबाट लेख्न सकिने बताउनुभयो । ‘समाचारका लिड विभिन्न किसिमका हुन्छन्, समाचारमा भाषा कस्तो छ ? शुद्धता कतिको छ ? यी विभिन्न विषयमा पत्रकार गम्भिर बन्नैपर्छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रशिक्षण दिनुहुँदै दि काठमाण्डु पोष्टका पूर्व सम्पादक उपाध्यायले पनि पत्रकार अध्यनशिल हुनपर्नेमा जोड दिनुभयो । ‘हामी इतिहासका बारेमा कतिको जानकार छौँ, हामी कतिको अध्यन गर्छौँ, किताब पढ्छौँ कि पढ्दैनौ पत्रकारितामा यी विषय अत्यन्तै महत्वपुर्ण हुन् ।’ उहाँले भन्नुभयो ‘पछिल्लो समय लेख्नेहरुका भन्दा पढ्ने पाठकहरुका भनाई अझ आकर्षक हुन थालेका छन्, अर्थात समाचार भन्दा राम्रो चाहिँ त्यहाँ लेखिएको सुझाव हुन थालेका छन् ।’
यस्ता समग्र विषयलाई मध्यनजर गर्दै पत्रकारले समाचार पस्कनुपर्नेमा उहाँको जोड थियो । प्रशिक्षण कार्यक्रम पश्चात सहभागीका तर्फबाट धारणा राख्दै भारतमा रहेर सञ्चार क्षेत्रमा कलम चलाउनुहुने पत्रकार प्रशान्त आचार्यले तालिममा सहभागी बन्न पाउँदा धेरै कुरा सिक्ने अवशर प्राप्त गरेको बताउनुभयो । ‘हामी नेपाली पत्रकारहरुसगँ सहकार्यका निम्त्ति सदैव तयार छौँ ।’ उहाँले भन्नुभयो । साथै प्रशिक्षण समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, माया मितु न्यौपाने लगायतले धारणा राख्नुभएको थियो । तालिममा भारत सगैँ झापाका विभिन्न स्थानका गरी ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसअघि प्रशिक्षणको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष जीआर धितालले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । क्लबका सचिव देबु बानियाँले सञ्चालन गर्नुभएको कार्यक्रम धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।