झापा,चैत २८ । सन्थाल समुदायको पहिरनका बिषयमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति सन्थाल समुदायले आपत्ति जनाएका छन् । चैत १९ र २० गते काठमाण्डौमा सम्पन्न लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको दोस्रो महाधिवेशनमा मन्तव्यको क्रममा एमाले अध्यक्ष ओलीले सन्थाल महिलाहरुको भेषभुषाको बिषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
आज बिर्तामोडमा सन्थाल समुदायसम्बद्ध पाँच वटा संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन मार्फत अध्यक्ष ओलीको अभिव्यक्ति तत्काल फिर्ता लिएर सार्वजनिक रुपमा माफि माग्न चेतावनी दिएका छन । ओलीले मन्तव्यको क्रममा सन्थाल महिलाले लगाउने पहिरनले संवेदनशिल अंग राम्ररी नछोपिने भन्दै त्यसलाई 'बोल्ड' सिनको संज्ञा दिदै गरेको भाषण सार्वजनिक भएको थियो ।
ओलीको यस्तो अभिव्यक्तिले आफ्नो सिंगो समुदायको मान हानी भएको सन्थाल समुदायको ठहर छ । ‘जंगली युगको प्रसंग ल्याएर एक्काइसौँ शताब्दीका संथालहरु अझै संवेदनशिल अंग देखिने पहिरन लगाउँछन् भन्ने हास्य कलाकारको रुपमा दिएको हास्यास्पद अभिव्यक्तिप्रति संथाल समुदाय घोर निन्दा गर्दछौँ,’ विज्ञप्तीमा उल्लेख छ ।
सन्थाल समुदायका महिलाहरुले लगाउने पहिरनलाई लुङगी, पन्ची पालहाट, पेटीकोट, साडी चोलो आदि भएको उनीहरुले बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय सन्थाल परिषदका उपाध्यक्ष तथा संविधानसभा सदस्य मोहन टुडुले सन्थाल समुदायको भावनामा आँच आउने ओलीको अभिव्यक्ति तत्काल फिर्ता लिएर सार्वजनिक रुपमा माफि नमागे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
आदिवासी जनजाति महासंघमा आवद्ध एक घटक सन्थाल समुदायप्रति एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघको ध्यानाकर्षण भएको महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताउनुभयो ।सन्थाल समुदायको आफ्नै भेषभुषा, सामाजिक कानुन भएको भन्दै यस्ता अभिव्यक्तिले समाजमा गलत सन्देश जाने उहाँको भनाई छ ।
नेपाल सन्थाल विकास संघका अध्यक्ष वडाराम हेमरमले ओलीको अभिव्यक्ति नसचिए कानुनी उपचार खोज्ने बताउनुभएको छ । कार्यक्रममा नेपाल संथाल आदिवासी उत्थान संघका महासचिव कुन्दन मुर्मु, रिलोमाला संथाली अख्डाका अध्यक्ष रिमिल श्यामसुन्दर बेस्रालगायतले आफ्ना धारणा राख्नुभएको थियो ।