झापा, चैत २६ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताउनु भएको छ । वहाँले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिनु भयो ।
राजनीतिभन्दा साहित्यको फाँट विराट हुने शर्माले उल्लेख गर्नु भयो । ‘समाजलाई बुझ्न मानवीय र भावनात्मक हुन जरुरी छ,’ महामन्त्री शर्माले भन्नुभयो, ‘राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।’
नेपाली लेखक संघ झापाले अर्जुनधाराको शनिश्चरेमा शनिबार सम्पन्न गरेको साहित्य उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने स्पष्ट पार्नु भयो ।
गीत, संगीत, गायन, लेखन, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्ममा समेत राम्रो दख्खल राख्ने शर्माले वैशाखी शीर्षकको कविता वाचन गरेर कार्यक्रमको माहोल आकर्षक बनाउनु भएको थियो ।
वहाँले पार्टीले लेखक संघ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार गर्नु भयो । महामन्त्री शर्माले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात गरेर अघि बढ्ने वचन समेत दिनुभयो ।
लेखक संघलाई प्रभावकारी बनाउन आफूले विगतमा पनि काम गरेको र भविस्यमा पनि त्यसलाई निरन्तरता दिने शर्माले आश्वासन दिनु भयो । वहाँले लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्बाहक भएको समेत उल्लेख गर्नु भयो ।
तीन सत्रमा सञ्चालन भएको कार्यक्रममा लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ , महासचिव सोझो गाउँलेले संघका गतिविधि र भावी कार्यक्रमका बारेमा स्पष्ट पार्नु भएको थियो ।
साहित्य उत्सवमा नेपाली लेखक दिवस सम्बन्धी कार्यपत्रको प्रस्तोता डा रत्नमणि नेपाल, टिप्पणीकार अनुपमा रेग्मी र मिलनकुमार ढुङ्गाना, लीलालेखन विषयक कार्यपत्र प्रस्तोता कृष्ण बराल, टिप्पणीकार मुनाराज शेर्मा र विष्णुकुमार भट्टराई रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण सोझो गाउँले र लीला अनमोलले गर्नु भएको थियो । उत्सव अन्तर्गतको काव्य सभाको सञ्चालन सुनिता तामाङले गर्नु भएको थियो ।
संघका झापा अध्यक्ष कुमार भट्टराईले औचित्यका बारेमा प्रस्ट्याएको कार्यक्रममा केशव आचार्य, सुनिता तामाङ, लीला अनमोलले सहजीकरण गरेका थिए । उत्सवमा २० जना बढीले आ–आफ्नो रचना वाचन गरेको समीर कट्टेलले बताउनु भयो ।
उत्सवको अवसरमा संघको केन्द्रीय सचिवालयको बैठक समेत शनिश्चरेमा बसेको थियो । सातै प्रदेशमा बैठक बस्ने योजना अनुरुप पहिलो बैठक कोशी प्रदेशमा बसेको संघका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।