झापा, चैत २५ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु र अर्का महामन्त्री गगन थापा पार्टीको आन्तरिक संगठन बलियो बनाएर आम जनताका बिचमा काँग्रेसलाई लोकप्रीय पार्टी बनाउन लागि परेकोे बताउनु भएको छ ।
झापा क्षेत्र नं. १ मा पार्टीबाट विभिन्न संघ संस्थामा निर्वाचित भएकाहरुको सम्मानमा शुक्रबार धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहनु भएका शर्माले भन्नुभयो, ‘गाली सहन तयार भएर पनि काँग्रेस जोगाउन दुई महामन्त्री लागेका छौं ।’ अहिले राजनितिमा सहि कुरा गर्दा समाजिक सञ्चालका माध्यमबाट गाली आउने गरेको बताउँदै त्यस कुरालाई सहेर पनि काँग्रेस बलियो बनाउन लागि परेको शर्माले बताउनु भयो ।
स्वर्णीम वाग्लेको नाम नलिईकन शर्माले विश्वको पल्लो कुनामा रहेको मान्छेलाई विद्वान छ भनेर नै पार्टीले बोलाएर दश बर्ष भित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी दिएर उसको विद्वता नेपाली माझ चिनाउने अवसर दिएको तर अहिले काँग्रेसलाई नै गाली गरेको हिडेको बताउनु भयो ।
वहाँले प्रतिनिधिसभाको यही पाँच बर्षे कार्यकालमा सरकारको नेतृत्व फेरिने र त्यो बेला मन्त्री बन्ने तर्फ संकेत पनि गर्नु भयो । ‘प्रचण्डको नेतृत्व दुई बर्ष हुन्छ भनेर सहमति नै छ,’ वहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व फेरिदाँ मन्त्री बन्ने बेला पनि आउँछ ।’
कार्यक्रममा झापा क्षेत्र नं. १ मा काँग्रेसबाट विभिन्न संघ संस्थाहरुमा विजयी हुनेहरुलाई सामुुहिक सम्मान गरिएको थियो । नेपाली काँग्रेसका महामन्त्री सहित जिल्ला उपसभापति केशबराज पाण्डे, पुर्व उपसभापति राम कट्टेल, महाधिवेश प्रतिनिधिहरुसमेतको उपस्थिति रहेको कार्यक्रम क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीको सभापतित्व तथा सचिव सुरेन्द्र बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।