मेचीनगर, चैत २३ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका मेचीनगरका विद्यालयमा अत्यन्तै सुस्त गतीमा काम भइरहेको पाइएको छ ।
कार्यक्रम अन्तर्गत परेका कुनै विद्यालयमा काम ढिलो गरी शुरु भएको तथा कुनैमा अहिलेसम्म काम नै नभएको पाइएको हो । गत भदौ २९ गतेको मन्त्री स्तरीय निर्णयमा मेचीनगरका चार विद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा छनोट भएका थिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गर्दा मेचीनगरका चार विद्यालय छनोटमा परेका हुन् ।
जसमा अरनिको मावि मेचीनगर ७ लाई चार कोठे भवन निर्माणका लागि ४५ लाख बजेट परेको थियो भने कालिका आधारभुत विद्यालय मेचीनगर १५ लाई दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार बजेट परेको थियो । यसैगरी आइसीटी ल्याब व्यवस्थापनतर्फ पशुपती मावि मेचीनगर ४ लाई ६ लाख ५० हजार र बालकल्याण मावि मेचीनगरलाई ६ लाख ५० हजार बजेट परेको थियो ।
यसरी राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अनतर्गत मेचीनगरका विद्यालयलाई मात्रै ८० लाख ५० हजार बजेट विनियोजन भएको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताउनुभएको छ । तर बजेट प्राप्त भएर कुनै विद्यालयमा काम भइरहेको भएपनि कुनैमा भने सम्झौता भएर बोलपत्र आव्हानको चरणमा रहेको उहाँले बताउनुभयो । ‘भौतिक निर्माण तर्फ परेका विद्यालयमा काम भइरहेको छ, आइसीटी तर्फको भने सम्झौता हुने चरणमा छ ।’ भण्डारीले भन्नुभयो ।
दुई कोठे भवन निर्माणका लागी २२ लाख ५० हजार बजेट परेको कालिका आधारभुत विद्यालयमा भरखर मात्रै भवन निर्माण शुरु भएको छ । विद्यालयका प्रधानाध्यापक सुरेश श्रेष्ठका अनुसार विद्यालय व्यवस्थापन समिति आँफैले भवन निर्माणको काम गरिरहेको छ । ‘व्यवस्थापन समितिकै मातहतमा काम शुरु गरेका छौँ, सामान ल्याउने, निर्माण कार्य हेर्ने सबै काम समितिले नै गरिरहेको छ ।’ उहाँले भन्नुभयो ‘असार मसान्तभित्र निर्माण सक्ने गरी काम गरिरहेका छौँ ।’
भदौमा छनोट भएको विद्यालयमा अहिले भरखरै काम शुरु भएको छ यस्तो कसरी भयो ? भन्ने सेतोपत्रको प्रश्नमा उहाँले ढिलो गरी काम शुरु भएको स्वीकार्नुभयो । ‘सम्झौता ढिलो गरी भयो जसले गर्दा निर्माणमा असर पर्यो ।’ उहाँले भन्नुभयो ।
मेचीनगर १५ मा रहेको यस विद्यालयमा यसबर्षदेखि कक्षा ७ शुरु हुने चरणमा छ । आइसीटी ल्याब स्थापनाका लागी बजेट आएको दुई विद्यालयमा भरखरै सम्झौता भएर बोलपत्र आव्हान भएको पाइएको छ । आइसीटीका लागी पशुपती मावि मेचीनगर ४ लाई ६ लाख ५० हजार र बालकल्याण मावि मेचीनगर ५ लाई ६ लाख ५० हजार बजेट परेको थियो ।
तर दुवै विद्यालयमा काम त परको कुरा सम्झौता नै भरखर मात्रै भएर बोलपत्र आव्हान भएको छ । ‘नगरपालिकामा स्पस्ट कार्यविधी नहुँदा काम गर्न ढिलो भयो, कसरी गर्ने भनेर कार्यविधी नै नहुँदा काम गर्न समस्या भयो ।’ बालकल्याण माविका प्रधानाध्यापक नारायण न्यौपानेले भन्नुभयो ‘हिजो मात्रै सम्झौता गरेर आएका छौँ, बोलपत्र आव्हान गरेका छौँ अब काम शुरु हुन्छ ।’
विद्यालयलाई डिजिटलाइज गर्ने, इन्टरनेटमा अब्बल बनाउने उद्देष्यका साथ आइसीटी मार्फत बजेट उपलब्ध गराइएपनि विद्यालयमा काम भने शुरु भएको छैन । मेचीनगर ४ को पशुपती माविले पनि बजेट अन्तर्गतको काम शुरु गर्न भरखरै सम्झौता गरेर बोलपत्र आव्हान गरेको छ ।
चार कोठे भवन निर्माणका लागी ४५ लाख बजेट आएको अरनिको मावि मेचीनगर ७ मा भने पहिलो तला निर्माण सकिएर दोस्रो तला निर्माण कार्य भइरहेको विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईले जानकारी दिनुभएको छ । ‘स्थानीय वासु राजवंशीलाई निर्माणका लागि मात्रै भनेर ९ लाख रकम दिने र अरु सबै काम व्यवस्थापन समितिले गर्ने गरी भवन निर्माण भइरहेको छ ।’ उहाँले भन्नुभयो ‘सम्पुर्ण सामान खरिद लगायतका काम व्यवस्थापन समितिले नै गरिरहेको छ ।’
भवन चाँडो निर्माण गर्ने सन्दर्भमा भने बजेटिङ कार्यक्रम नै ढिला भएकाले निर्माण कार्य ढिला भएको उहाँको भनाई छ । उहाँका अनुसार भवन निर्माण मार्फत ३० प्रतिशत बजेट प्राप्त भइसकेको छ भने अहिले दोस्रो बिल पेस गर्ने तयारी भइरहेको छ ।