मेचीनगर, चैत २१ । मेचीनगरमा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । हिजोदेखि सुरु भएको तालिमको उद्घाटन कोशी प्रदेशकी सांसद विद्या चाम्लिङ राईले गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै कार्यक्रमकी प्रमुख अतिथि सांसद राईले हाम्रो समाजमा अहिले पनि महिलाहरुलाई कमजोर ठान्ने गरिएको बताउनुभयो । उहाँले किशोरी अवस्थादेखि नै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरु कमजोर नहुने पनि बताउनुभएको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले डेढ महिने सेल्फ डिफेन्स तालिमले नगरका किशोरीहरूलाई आत्मारक्षामा टेवा पुग्ने बताउनुभयो । किशोरीहरूको आत्माबल उच्च हुँदा पनि समाजमा धेरै हतसम्म महिला हिंसा कम हुने उहाँको भनाई छ ।
त्यस्तै उपमेयर मीना पोखरेल उप्रेतीले विभिन्न बहानामा महिलाहरू हिंसामा पर्ने गरेको बताउँदै समाजमा त्यस्ता महिला हिंसा अन्त्यका लागि पनि सेल्फ डिफेन्स तालिम प्रभावकारी हुने बताउनुभयो ।
काँकरभिट्टा फिट्नेस सेन्टर मेचीनगर–६ को आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा मेचीनगर नगरकार्यपालिका सदस्य हृदय राजवंशी, चित्र धिमाल, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, शाखा अधिकृतहरु दिपेन्द्र कार्की, राजन भेटवाल, इन्दिरा खरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेचीनगरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।