मेचीनगर, चैत १९ । काँकरभिट्टामा जातीय विभेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दलित उत्थान उपभोक्ता समिति मेचीनगर ६ को आयोजना तथा मेचीनगर ६ नं वडा कार्यालयको संयोजनमा काँकरभिट्टा खानेपानीको सभाहलमा हिजो कार्यक्रम सम्पन्न भएको हो ।
कसरी हुन्छ जातीय विभेदको अन्त्य ? विषयक यस अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सन्तोष परियार, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, मेचीनगर ६ की वडा सदस्य सिमा रसाइली लगायतले उठेका प्रश्नको जवाफ दिँदै कार्यक्रमको विषयमा छलफल गर्नुभएको थियो ।
अन्तरक्रियामा बोल्दै प्रतिनिधि सभाका सांसद परियारले ‘दलित’ शब्द कुनै हेपाई, उत्पीडन्, तथा गालीको शब्द नभइ आन्दोलनबाट आएको शब्द भएको बताउनुभएको छ । ‘पछिल्लो समय केही केही नागरिकहरु दलित शब्द पविर्तन गर्नुपर्छ भनेर लाग्नुभएको छ, तर यो शब्द परिवर्तन गर्नपर्छ जस्तो मलाई लाग्दैन ।’ उहाँले भन्नुभयो ‘यो कुनै हेपाइको शब्द नभई आन्दोलनबाट जन्मिएको शब्द हो ।’
अन्तरक्रियामा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जवसम्म मानिस सामाजिक र आर्थिक रुपमा सक्षम हुँदैन तवसम्म विभेद अन्त्य नहुने जिकिर गर्नुभयो । ‘यहाँ देख्दा कुनै समुदायमा मात्रै विभेद देखिन्छ तर यथार्थ त्यो भन्दा फरक छ, यहाँ हरेक नागरिक विभेदको समना गरिरहेका छन् ।’ उहाँले भन्नुभयो ‘यस्ता विभेदलाई चिर्न व्यापक जनचेतना आवयश्यक छ ।’
जातीय विभेदको अन्त्य, छुवाछुत मुक्त नगरपालिका लगायतका विषयमा मेचीनगर गम्भिर भएर लागी परेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले भन्नुभएको छ । ‘जातीय विभेदका विषयमा नगरपालिका सधैँ गम्भिर छ र रहिरहनेछ ।’ दाबीका साथ उहाँले भन्नुभयो । ‘विभेदका विषयमा नगरपालिकाले धेरै काम गरेको छ ।’
यसैगरी मेचीनगर–६ की वडा सदस्य सीमा रसाइलीले जनप्रतिनिधिको रुपमा आफ्नो पहिलो कार्यकाल रहेकाले जातीय विभेदका विषयमा वडागत निति निर्माण गर्दा आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । ‘यो मेरो पहिलो कार्यकाल हो, यसभन्दा अघि वडाबाट बजेट छुट्याउँदा तिन लाख छुट्याउने गरिएको रहेछ, अब त्यसलाई बढाएर अझै धेरै बनाउने कुरामा म आवाज उठाउँछु ।’ उहाँले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासालाई वक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण सागर शिवाकोटीले गर्नुभएको थियो ।