झापा, चैत १८ । नेकपा एकीकृत समाजवादीको झापा जिल्लास्तरिय दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रबार शुरु भएको छ । भद्रपुरस्थीत मुना सामुदायिक भवनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले उदघाटन गर्नु भएको आवाशीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका एक सय ३५ जना अगुवा कार्यकर्ताहरु सहभागि रहेको नेकपा एस झापाका सचिव बिपि भट्टराईले बताउनु भयो । वहाँका अनुसार प्रशिक्षण कार्यक्रममा सहभागि सबैका लागि आवशीय व्यवस्था गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलन विचार, संगठन, संघर्ष र आन्दोलनको समायोजनले मात्र अगाडि बढ्न सक्ने बताउनु भयो । यसका लागि पुराना पुस्ताको अनुभव र नयां पुस्ताको ज्ञानको संयोजनले अगाडि बढाउनु पर्ने वहाँको धारणा थियो ।
प्रशिक्षण कार्यक्रम अन्तर्गत पहिलो दिन समसामयिक राष्ट्रीय परिस्थिति र हाम्रो भुमिका बिषयमा पार्टी अध्यक्ष नेपाल, बदलिंदो विश्व व्यवस्था, कम्युनिस्ट आचरण र नैतिकता बिषयमा पार्टी उपाध्यक्ष तथा कोशी प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत। पार्टी निर्माणको नयां दिशाका बिषयमा उपमहासचीव जगन्नाथ खतिवडा, र संगठनात्मक सिद्धान्त तथा पार्टी अभियानका बिषयमा पार्टीका कोशी प्रदेशका कार्यबाहक अध्यक्ष एवं पार्टी स्कुल प्रमुख धर्म निरौलाले सहजिकरण गर्नु भएको थियो ।
त्यस्तै आज दोस्रो दिन सामाजिक आर्थिक रूपान्तरणका लागि समाजवादी कार्यदिशाका बिषयमा नेकपा एसका महासचिव घनश्याम भुसालले प्रशिक्षण दिनु हुनेछ । आजै समकालिन पुंजीवाद र समाजवादी संघर्ष केन्द्रीय सदस्य अशेष घिमिरे र हाम्रो मार्गदर्शक सिद्धान्त र तत्कालिन कार्यभारहरू बिषयमा सम्मानित नेता झलनाथ खनालले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिव भट्टराईले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रमका बिच नेकपा एमाले परित्याग गरेर स्वतन्त्र रुपमा रहनु भएका पुर्व एमाले नेता डम्बर गिरी, एमाले जिल्ला कमिटि सदस्य मिना राजबंशी र नेपाल समावेशी पार्टीका केन्द्रीय प्रवक्ता रामबहादुर थापा(बाबुराम), एमाले सम्बद्ध युवा संघका अनिल मेचे, दिलिप राया, निमेश राजवंशी लगायतले नेकपा एस प्रवेश गर्नु भएको थियो । वहाँहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष नेपाल सहितका नेताहरुले अविर लगाएर स्वागत गर्नु भएको थियो ।
नेकपा एस जिल्ला सम्मेलन आयोजक कमिटी झापाका अध्यक्ष वेदराज रेग्मीको अध्यक्षमा भएको कार्यक्रम जिल्ला स्कुल विभागका सचिव भास्कर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।