झापा, चैत १६ । नेकपा एकीकृत समाजवादी पार्टीले झापामा संगठन बिस्तारलाई तिब्रता मात्रै दिएको छैन, पार्टीका तर्फबाट विभिन्न सामाजिक संघ संस्थामा समेत आफ्नो उपस्थीतीलाई बलियो बनाउँदै लगेको छ ।
नेकपा एमालेसंग बिद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एस तुलनात्मक रुपमा झापामा कमजोर हुने आँकलन विपरित पछिल्ला दिनमा झापामा उसले आफ्नो प्रभाव देखाउँदै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला र एमालेको बलियो संगठन भएको झापामा त्यसलाई चिरेर एमालेबाटै बिद्रोह गरेको पार्टीको संगठन निर्माण गर्नु कम चुनौतिपूर्ण काम होईन तर नेकपा एसका जिल्लास्तरका नेता कार्यकर्ताले आफुलाई अब्बल प्रमाणित गर्दै एमालेलाई नै मात खुवाउने गरी संगठन बिस्तारमा उल्लेखनीय सफलता हात पारेका छन ।
केही दिन अघि मात्रै नेकपा एमालेका तर्फबाट यस अघि हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका डम्बर गिरी समेत नेकपा एसमा प्रवेश गर्नु भएको छ । गिरी एमाले सम्बद्ध युवा संगठन युवा संघ नेपालको झापा अध्यक्ष समेत रहनु भएको थियो भने गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ३ मा एमालेका बाघी उम्मेद्वार समेत हुनुहुन्थ्यो ।
भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काकरभिट्टा क्याम्पसमा कोषाध्यक्ष सहित दुई जना समानुपातिक सदस्य निर्वाचित गराएर नेकपा एसले आफुलाई एमालेको गढ मानिएको मेचीनगरमा समेत बलियो उपस्थीती जनाइसकेको छ । काकरभिट्टा क्याम्पसमा एमाले निकट अनेरास्ववियुभन्दा बढी मत ल्याएर नेकपा एस निकट अनेरास्ववियूले विद्यार्थी राजनितिमा पनि आफुलाई स्थापित गराएको छ । त्यस्तै एमाले अध्यक्ष ओलीकै गृह नगर दमकस्थीत दमक बहुमुखी क्याम्पसमा समेत एक जना स्ववियु सदस्य निर्वाचित गराएर होस या दमक नगरको भुमि व्यवस्थापन समितिमा र वडास्तरिय समितिहरुमा समेत आफ्नो बलियो उपस्थीति गराएर नेकपा एसले ओलीको नाकै मुनि पनि संगठन विस्तारलाई तिब्रता दिएको छ ।
त्यस्तै विभिन्न संघ संस्था र वन समितिहरुमा समेत पनि झापामा नेकपा एसले आफ्नो उपस्थीतिलाई नेतृत्वदायी भुमिकामा गराउँन थालेको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ५ को पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष र उपाध्यक्ष नै नेकपा एसका चेतन आचार्य र श्याम धिमाल विजयी भएका छन भने भद्रपुरस्थीत दुई वटा संस्थाहरु चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र चन्द्रगढी सिमसार क्षेत्र संरक्षण समितिको अध्यक्षमा नेकपा एसका नेता दुर्गा भट्टराई रहनु भएको छ ।
नेकपा एसले मेचीनगरका सामुदायिक वन समूहहरुमा पनि नेतृत्वदायी भुमिकामा स्थापित गराउँदै लगेको छ । हातेमालो वन समुह मेचीनगर १३ को लेखा समिति संयोजकमा नेकपा एसका कृष्णप्रसाद सिग्देल निर्वाचित हुनु भएको छ भने काकलिका वन समुह मेचीनगर ११ को कोषाध्यक्षमा नेकपा एस समर्थित निर्मला पाठक निर्वाचित हुनु भएको छ । त्यस्तै मेचीनगर वडा नं. १, २, ३ र ४ कार्यक्षेत्र रहेको सिद्धि नहर सिंचाई आयोजनाको कार्यसमिति सदस्यमा टंकमाया भट्टराईलाई निर्वाचित गराएर एमालेको बलियो संगठन भएको बाहुनडाँगी क्षेत्रमा पनि नेकपा एसले स्थानीयस्तरमा प्रभाव छोड्न थालेको देखिन्छ ।
चन्द्रगढीस्थीत बिरेन्द्र नमूना क्याक्पसको अध्यक्षका रुपमा समेत नेकपा एसका नेता पुष्पराज पौडेलले काम गरिरहनु भएको छ । पुहाँतु जनज्योति मावि भद्रपुरको व्यवस्थापन समिति अध्यक्षमा पनि नेकपा एसका ज्ञानेन्द्र कटुवाल हुनुहुन्छ । त्यस्तै झापाको शिवसताक्षी नगरपालिका भित्रका थुप्रैवटा संस्थामा नेकपा एस निकटका व्यक्तिहरुले नेतृत्व लिएका छन । जसमा भानु मावि लालझोडाको व्यवस्थापन समितिको अध्यक्षमा ख्याम मैनाली, वालसेवा आधारभुत विद्यालयको अध्यक्षमा गोविन्द ल्वागुन, शिवगञ्ज बजार व्यवस्थापन समितिको अध्यक्षमा सोम गुरागाई लगायत रहनु भएको छ ।
त्यस्तै कमल गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्षमा नेकपा एसका अशोक सुब्बा रहनु भएको छ । जुन झापामा नेकपा एसका तर्फबाट निर्वाचित एक मात्रै जनप्रतिनिधि हुनुहुन्छ । त्यसैगरी कमल गाउँपालिका वडा नं. २ स्थीत नरेन्द्र जनता माविको अध्यक्षमा नेकपा एसका रामबहादुर भण्डारी हुनुहुन्छ भने तोपगाछी खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा नेकपा एसकै होम बहादुर बराल हुनुहुन्छ । त्यसो त जिल्ला खानेपानी तथा उपभोक्ता महासंघ झापाको लेखा समिति संयोजकमा पनि नेकपा एसकै हरीकुमार पराजुली रहनु भएको छ ।
झापाको अर्जुनधारा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा नेकपा एस समर्थित कृष्ण लोहार चयन हुनुभएको छ भने अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन समितिको उपाध्यक्षमा नेकपा एसकै दिपक दुलाल हुनुहुन्छ । त्यस्तै अर्जुनधारा प्याब्सनको उपाध्यक्षमा नेकपा एसकै कुमार राय रहनु भएको छ । यस बाहेक पनि जिल्लाका थुप्रै संघ संस्थाहरुमा नेकपा एसले आफ्नो उपस्थीतीलाई बलियो बनाउँदै लगेको छ । राजनितिक दलका रुपमा स्थापना भएको छोटो अवधीमा नै पार्टीको आन्तरिक संगठनदेखि बाहेक पनि समाजका अनेकन संरचना भित्र पार्टी सम्बद्ध व्यक्तिहरुलाई नेतृत्वदायी भुमिकामा स्थापित गराउँदै जानु भनेको नेकपा एसले झापामा आफ्नो उपस्थीतिलाई निर्णायक राजनितिक शक्तिका रुपमा स्थापित गरिसकेको छ भन्ने बुझ्न सजिलो हुन्छ ।
जिल्लाका सबैजसो संरचनाहरुमा नेकपा एसको उपस्थीति संस्थागत र व्यक्तिगत रुपमा बढाउँदै लगिएको नेकपा एस झापाका सचिव बि.पी भट्ट्राई बताउनु हुन्छ । ‘हामी जिम्मेवार र निर्णायक शक्ति हौं र त्यही अनुसार हामी समाज निर्माणमा इमान्दार प्रयास जारी राख्छौं,’ जिल्ला सचिव भट्टराईले भन्नुभयो ।
झापाका १५ वटै पालिकामा नेकपा एसले आफ्नो पालिकास्तरिय कमिटि गठन गरिसकोको छ भने झापाका ८० वटा वडा कमिटि गठन भएर संगठन बिस्तारको काम भइरहेको नेकपा एसका केन्द्रीय सदस्य अशेष घिमिरेले बताउनु भयो । वहाँका अनुसार बाँकी रहेका वडा कमिटि गठनको काम समेत बैशाख भित्रमा सकिनेछ ।
केन्द्रीय सदस्य घिमिरेका अनुसार २०८० जेठ भित्रमा नेकपा एसको झापाको जिल्ला अधिवेशन सम्पन्न हुनेछ । अहिले जिल्ला अधिवेशनकै तयारी स्वरुप विभिन्न काम भइरहेको वहाँले बताउनु भयो । जिल्ला समितिलाई अधिवेशन आयोजक कमिटिमा रुपान्तरण गरिएसंगै एमालेबाट बिद्रोह गरेका थुप्रै नेता कार्यकर्ताहरु आफ्नो पार्टीको सम्पर्कमा आउनेक्रम रहेको घिमिरेले बताउनु भयो । वहाँका अनुसार शुरुवातमा एमालेबाट बिद्रोह गरेकाहरुलाई नै संगठित गरेर पार्टी निर्माणको काम गरेर अघि बढे पनि अहिले भने सबै पार्टीबाट नेकपा एसमा आबद्ध हुनेको संख्या उल्लेख्य रहेको छ । त्यस्तै कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्छ भन्ने आम मानिसहरुको साथ पनि नेकपा एसलाई नै रहेको केन्द्रीय सदस्य घिमिरेले बताउनु भयो ।
नेकपा एसले झापामा संगठन सुदृढीकरण तथा परिचालन अभियान सञ्चालन गरिरहेको छ । एक महिनासम्म चल्ने यस अभियानले विभिन्न कमिटीहरु गठन, पुर्नगठनदेखि लिएर निस्कृय रहेका कमिटि र व्यक्तिहरुलाई सक्रिय बनाउने देखि पार्टी सम्बद्ध जनसंगठनहरु महिला, शिक्षक, कर्मचारी, मजदुर, किसानका कमिटिहरुलाई समेत सक्रिय बनाउने काम गरिरहेको केन्द्रीय सदस्य घिमिरेले बताउनु भयो ।
नेकपा एसले झापामा एक वार्ड एक सय संगठित सदस्य अभियान पनि सञ्चालन गरिहेको र त्यस अभियान अन्तर्गत पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गरिरहेको जिल्ला सचिव भट्टराईले बताउनु भयो ।
संगठन सुदृढीकरण अभियान अन्तर्गत नै नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल चैत १७ र १८ गते झापामा आएर बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुने जिल्ला सचिव भट्टराईले जानकारी दिनु भयो ।