मेचीनगर, चैत १५ । उमेरले ६२ बर्ष पुग्नुभएका मेचीनगर १३ का हेमलाल सापकोटा आज निक्कै खुशी हुनुहुन्छ । नयाँ उल्लासका साथ मनभरी नौलो खुशी बोक्नुभएका उहाँको खुशीको कारण पनि उहाँका लागी त्यत्तिनै नौलो छ । २०५६ सालमा मेचीनगरको एक मल कारखनामा काम गर्दा एक हात गुमाउनुभएका सापकोटाले आज कृत्रिम हात प्राप्त गर्नुभयो । ५६ सालमा कारखनामा काम गर्दै गर्दा मेसीनमा परेर उहाँको हात गुमेको थियो ।
तर आज ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा क्रृण सहकारी संस्था मेचीनगर २ ले आयोजना गरेको कृत्रिम हात खुट्टा वितरण कार्यक्रममा उहाँले नयाँ हात पाउनुभयो । ‘साह्रै खुशी लागेको छ बाबु, हात नहुनु भनेको त जिवन नै नहुनु जस्तै रहेछ ।’ उहाँले भन्नुभयो ‘जिवन भोगाइको क्रममा हात गुम्यो आज नयाँ हात पाँउदा एकदम खुशी छु ।’
मोरङको मधुमल्ला निवासी कमल मगर पनि आज अत्यन्तै खुशी हुनुहुन्छ । जिवन भोगाइको क्रममा रोजगारी खोज्दै परदेसिनुभएका ६० बर्षिय मगर घर फर्कदा एक हात गुमाएर फर्कनुभयो । मलेसीयाको एक कम्पनीमा काम गर्ने क्रममा उहाँको पनि मेसीनले एउटा हात लग्यो । ‘हात गुमेको १० बर्ष भयो मलेसीयामा काम गर्दा मेसीनमा परेर हात गुमेको हो ।’ उहाँ भन्नुहुन्छ ‘१० बर्षपछी आज यसरी कृत्रिम हात प्राप्त गर्दा अत्यन्तै खुशी छु ।’
उहाँहरु जस्तै हात तथा खुट्टा गुमाउनुभएका ९४ जनालाई आज मेचीनगर २ मा अवस्थित ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा क्रृण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गर्दै कृत्रिम हात तथा खुट्टा वितरण गरेको छ । छिमेकी मुलुक भारतमा रहेर सामाजीक क्षेत्रमा अत्यन्तै सक्रिय रहेको नारायणी सेवा संस्थानको विशेष सहयोगमा आज यस सहकारीले अपाङ्गता भएका ९४ जनालाई १ सय ८ थान कृत्रिम हात तथा खुट्टा वितरण गरेको हो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरिएको आजको यस कार्यक्रममा कृत्रिम हात तथा खुट्टा सगैँ ह्विलचियर, कान नसुन्नेका लागि इयरफोन लगायतका सामाग्री वितरण गरिएको छ । कार्यक्रममा कृत्रिम हात खुट्टा प्राप्त गर्नका निम्त्ति विभिन्न जिल्लाबाट अपाङ्गता भएका व्यक्तिहरु आउनुभएको थियो ।
बौद्धमोडलाई कृत्रिम हात खुट्टा केन्द्रका रुपमा विकास गरिने
प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न यस कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रममा मेचीनगर २ लाई कृत्रिम हात खुट्टा हवका रुपमा विकास गर्न अभियान चलाइने बताइएको छ । कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै सहकारीका अध्यक्ष सचिन निरौलाले अपाङ्गता भएका व्यक्तिहरुको साहरा बन्दै मेचीनगर २ लाई कृत्रिम हात खुट्टा वितरणको केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो ।
‘अपाङगता भएका व्यक्तिहरुको दुख हामीले बुझेका छौँ, यो समाजले बुझेको छ, हाम्रो सहकारीले बुझेको छ ।’ उहाँले भन्नुभयो ‘देशभरीका अपाङ्गता भएका व्यक्तिहरुको पुनरुत्थानका निम्त्ति हामी सधैँ सक्रिय रहनेछौँ जसका कारण पनि आज यति महत्वपुर्ण कार्यक्रम हाम्रो क्षेत्रमा सम्पन्न भइरहेको छ ।’
यसैगरी कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी रानामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा गर्ने यस्तो महान कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै हर्षित बनेको बताउनुभयो । ‘सेवालाई सिमाले छेक्दैन, म पनि यहि चारआलीको जंगलमा निगुरो टिपेर हुर्किएकी झापाली चेली हुँ ।’ उहाँले भन्नुभयो ‘यहाँको हर सुख दुखसगँ म जोडिएको छु, हात नहुँदाको पिँडा, खुट्टा गुमाउनुपर्दाको छट्पटी म बुझ्न सक्छु र यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई ठुलो हर्ष महसुस भएको छ ।’
बोल्ने क्रममा उहाँले ‘हरेक नागरिक आफैँमा सरकार भन्दै सबैले सेवाको भाव राख्नुपर्ने पनि बताउनुभयो । ‘सबैभन्दा ठुलो आनन्द नै सेवामा छ ।’ उहाँले भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथी रानामगरसगैँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल हरीहर सत्संघ धार्मिक विकास संस्थाका संयोजक मुकुन्द नेपाल, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, सहयोगी संस्था नेफ इण्डिया फाउण्डेशनकी सचिव इन्दीरा शर्मा, नारायणी सेवा संस्थानका प्रतिनिधी हरीप्रसाद लद्दा लगायतले मन्तव्य राख्नुभएको थियो ।