काकरभिट्टा, चैत १४ । झापाको मेचीनगर नगरपालिकास्थीत काकरभिट्टा माद्यमिक विद्यालयले विद्यमान कानूनको धज्जी उडाउँदै ४० बर्ष उमेर नाघेकालाई मावि शिक्षकमा नियुक्ति दिएको खुलासा भएको छ ।
काकरभिट्टा माविले साविकको उच्च माद्यमिक शिक्षक दरबन्दीमा ४० बर्ष उमेर कटिसकेका मेचीनगर ६ का फाल्गुनी दाहाललाई नियुक्ती दिएको खुल्न आएको छ । विद्यालयले उक्त शिक्षक नियुक्तिका लागि जारी गरिएको सूचना नै कानून विपरित रहेको देखिएको छ ।
विद्यालयले २०७९ फागुन ५ गते शिक्षक पदपुर्तीका लागि ‘सामुदायिक उच्च माद्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१’ लागू हुनु पुर्व यस विद्यालयको साविकको उच्च मावि शिक्षकमा नियुक्ति भई कार्यरत रहेको हकमा उमेर हद नलाग्ने भनेर शिक्षक नियुक्तिको विज्ञापन गरिएको देखिन्छ, जुन आफैंमा कानून विपरित छ । जबकि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७९ मंसिर २७ गते नै शिक्षा विकास तथा समन्वय इकाईका नाममा जारी गरेको निर्देशनमा उक्त निर्देशिका बमोजिम शिक्षक नियुक्ती गर्दा आयोगबाट हुने तोकिए बमोजिमको पहिलो बिज्ञापनमा मात्रै शिक्षकको न्यूनतम उमेरहद नलाग्ने भनेको छ । संगैमा उक्त निर्देशनमा नै सो बाहेकको अवस्थामा जुनसुकै किसिमबाट उच्च माद्यमिक शिक्षकको पदमा नियुक्ति भई कार्यरत रहेको भएता पनि उच्च माद्यामिक तर्फको दरबन्दी÷अनुदान कोटाबाट शिक्षक नियुक्ति गर्दा न्यूनतम र अधिकतम उमेर हद लाग्ने उल्लेख छ ।
निर्देशनले स्पष्ट रुपमा भनेको छ कि उमेर हद नलाग्ने कुरा आयोगबाट हुने तोकिएको पहिलो विज्ञापनमा मात्रै लागू हुनेछ । जबकी काकरभिट्टा माविले नियुक्ति गरेका शिक्षक दाहाललाई आयोगले तोकिएको विज्ञापनबाट नभई विद्यालय व्यवस्थापन समितिले गठन गरेको शिक्षक छनौट समितिले विज्ञापन गरेको परीक्षाबाट ल्याइएको हो । विद्यालयले उनै फाल्गुनी दाहाललाई नै नियुक्ति दिने गरी विज्ञापनमा नै कानून बिपरित प्रावधान राखेको देखिएको छ ।
विद्यालयले दाहाललाई नियुक्तिका लागि आधार बनाएको ‘सामुदायिक उच्च माद्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१’ को परिच्छेद ५ को विविधको ५.१ मा भनिएको छ, ‘शिक्षा ऐन, शिक्षा नियमावली २०५९, उच्च माद्यमिक शिक्षा ऐन २०४६ र उच्च माद्यमिक शिक्षा नियमावली २०५२ संग बाझिएको हकमा उक्त ऐनहरु तथा नियमावलीहरु बमोजिम नै हुनेछ ।’ यही व्यवस्थाले पनि काकरभिट्टा माविले नियुक्त गरेको मावि शिक्षक दाहालको नियुक्ति कानून विपरित हुने देखिन्छ ।
विभिन्न पक्षबाट कानून विपरित शिक्षक नियुक्ति नगर्न सुझाव दिंदा दिंदै पनि राजनितिक दलका नेताको दबाबमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले कानून बिपरित शिक्षक नियुक्तिको विज्ञापन गरेको समेत बुझिएको छ ।
सेतोपत्रलाई प्राप्त जानकारी अनुसार विद्यालयले नियुक्ति गरेको शिक्षकको दरबन्दी अभिलेखिकरण गर्न जिल्ला शिक्षा तथा समन्वय इकाई झापाले मानेको छैन । समन्वय इकाईले नियुक्ति अभिलेखिकरण नगरी उक्त शिक्षकलाई तलब भुक्तानी गर्न नमिल्ने कानूनी व्यवस्था छ । उक्त नियुक्ति अभिलेखिकरण गर्न दबाब दिने उद्देश्यले एउटा राजनितिक दलका केन्द्रिय सदस्य तहका नेता स्वयम जिल्ला शिक्षा तथा समन्वय इकाईको कार्यालय भद्रपुर पनि पुग्नु भएको बुझिएको छ ।