मेचीनगर, चैत १२ । मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा हिजो आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।
सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै केन्द्रका नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको आशा र भरोसा टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘विशुद्ध समुदायको नेतृत्व गर्दै भुइँमान्छेको आवाजलाई सधैँ शिरोपर गर्नेछौँ ।’ उहाँले भन्नुभयो ‘यस सेवा केन्द्र अरुभन्दा फरक छ सिमामा रहेकाले फरक त छ नै यहाँ अरु स्थानभन्दा चुनौति पनि छ ।’
सम्पुर्ण प्रकारका चुनौतीको सामना गर्दै केन्द्रलाई समुदायको गौरव बनाउने उहाँले बताउनुभएको छ । कार्यक्रममा अध्यक्ष पौडेल, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव खडानन्द भण्डारी, सचिव अर्जन राई, कोषाध्यक्ष रोमा थापा, सदस्य सजित तामाङ, रमेश कटुवाल, मिरा कार्की, नेत्र प्रसाद पराजुली, सुदर्शन खड्का, शशि राई लगायतले पद तथा गोपनियताको सपथ खानुभएको थियो ।
सपथ लिँदा सम्बन्धित पदाधिकारीका पति÷पत्नीलाई पनि एकैसाथ राखेर सामुहिक सपथ खुवाईएको थियो । सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्वाचन समितिका सदस्य राजु कार्कीले संचालन गर्नुभएको कार्यकमको अध्यक्षता संयोजक घिमिरे तथा समापन समितिका अर्का सदस्य ओमप्रकाश खापुङले गर्नुभएको थियो । संस्थाको आगामी तीन वर्षे नयाँ कार्यकालका लागि गत चैत ७ गते निर्वाचन सम्पन्न भएको थियो ।