मेचीनगर, चैत ९ । सिमामा हुने अवैद्य कारोबार, कुखुरा तथा मासुजन्य पदार्थको अवैद्य आयात, भारतीय गाडीको मनोमानी, जंगली हात्तीको आतंक, सुपारी किसानका समस्या लगायत विभिन्न समसामयिक विषयमा आज मेचीनगर नगरपालिकामा व्यापक छलफल भएको छ ।
प्रदेश सांसद, झापाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विभिन संघसंस्थामा आवद्ध सामाजिक व्यक्तित्वहरु, जनप्रतिनिधि तथा नागरिकहरु बिच आम नागरिक तथा व्यवसायीहरुले भोगिरहेका समस्यामा गम्भिर छलफल भएको हो ।
भारतीय गाडीले निम्त्याएको समस्या
खुला सिमानाका कारण भारतीय सवारी सुविधा काटेर नेपाल प्रवेश गर्छन् । भारतीय सवारीलाई यातायातमा सहज होस भन्नका लागि सुविधा प्रदान गरिन्छ । तर उक्त सुविधाको दुरुपयोग गर्दै भारतीय सवारीले सिमामा प्यासेन्जर बोक्ने गरेको विषयमा आज सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइएको छ ।
‘भारतीय सवारीले नेपाल आएर नेपाली गाडीले झैँ प्यासेन्जर ओसारपोसार गर्न थालेपछि यातायात व्यवसायी गम्भिर संकटमा छन् ।’ छलफलमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भन्नुभयो ‘सहजिकरणका लागि मात्रै सुविधा दिएपनि दिनभरी प्यासेन्जर नै बोक्ने गरेपछि नेपाली सवारी मारमा परेका छन् ।’
‘भारतीय गाडीले नेपाल तर्फ दुर्घट्ना गरेर फरार भयो भने त्यसको जिम्मेवारी कसले लिने ? भारतीय सवारीको प्रयोगबाट अपराध हुने जोखिम पनि उत्तिकै छ ।’ उहाँले भन्नुभयो ‘यस विषयमा प्रहरी प्रशासनको महत्वपुर्ण भुमिका हुने भएकाले समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्दछु ।’
सिमाबाट हुने अवैद्य ओसारपोसार रोक्न निर्देशन
छलफलमा खुला सिमानाका कारण हुने अवैद्य ओसारपोसारको विषयमा पनि गम्भिरतापूर्वक छलफल भएको छ । खुला सिमानाको गलत फाइदा उठाउँदै अहिलेपनि अवैद्य रुपमा मासु तथा मासुजन्य पदार्थ नेपाल भित्रिरहेकोमा सम्बन्धित निकायले चिन्ता व्यक्त गरेको छ ।
जिल्ला कुखुरा व्यवसायी संघका तर्फबाट सुरक्षा निकायका प्रमुखहरुको ध्यानाकर्षण गराउँदै संघका अध्यक्ष विवेक निरौलाले भारतबाट भित्रिरहेका गुणस्तरहीन मासुजन्य पदार्थले नेपाली बजार डामाडोल बनेको र कुखुरापालन व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले पालिकाले गर्नुपर्ने कार्य र प्रशासनले गर्नुपर्ने कार्य नै नै उल्लेख गरी अवैद्य तरीकाले कुखुरा, मासु तथा अण्डा भारतबाट भित्रँदा राज्यको करोडौँ रकम अनाधिकृत रुपमा देश बाहिर गइरहेको भन्दै यसलाई रोक्न सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । मेचीनगरकै विभिन्न स्थान बाहुण्डागीँ, नकलबन्दा काँकरभिट्टा लगायत स्थानबाट अवैध कुखुरा नेपाल भित्रिरहेको उहाँको भनाई छ ।
यता यस विषयमा सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले मातहतका सबै निकायलाई अवैद्य आयातलाई कडाई गर्न निर्देशन दिनुभएको छ ।
स्थानीय सुपारीले बजार पाएन
छलफलमा सुपारी उत्पादक तथा संकलक किसानहरुले स्थानीय सुपारीको बजार अलपत्र भएको बताएका छन् । करका नाममा विभिन्न सास्ती झेल्नुपरेको भन्दै किसानहरुले मेचीनगर क्षेत्र भरी सुपारी ओसारपोसार गर्दा करका नाममा कुनैपनि सास्ती हुनुनहुने बताएका हुन् ।
‘बाहुण्डागीँबाट काँकरभिट्टा ल्याइपुर्याउँदै प्रहरीले सुपारी नियन्त्रणमा लिन्छ, कर भ्याट लगायतका नाममा सुपारी किसानलाई अन्योलमा पारिएको छ ।’ छलफलमा सहभागी सुपारी संकलक किसानहरले भनेका छन् । यस्ता विषयमा अन्योलमा नपार्न उनिहरुको माग छ भने सम्बन्धि पक्षले पनि आवयश्यक छलफल गरेर समाधानको उपाय खोजिने बताएको छ ।
छलफलमा अवैद्य रुपमा भारतबाट गुणस्तरहीन बिउबिजन नेपाल भित्रिँदा हाम्रो जमिनको उर्वरा शक्ति नै खस्किएको भन्दै यस विषयलाई गम्भिरतापूर्वक लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । धान, गहुँको बिउ कुनै चेकजाँच बिना नेपाल भित्रिरहेको भन्दै यसले आगामी दिनमा पार्ने प्रभावका विषयमा पनि समिक्षा गरिएको छ ।
छलफलमा कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, आन्तरिक राजश्व कार्यालयका प्रमुख, भन्सार प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।