झापा, चैत ९ । पुर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक निर्माणका क्रममा ७१ खोलाहरु पर्ने छन । ती सबैमा पुल निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । अहिले भइरहेका अधिकाशं पुललाई समेत प्रयोगमा ल्याउने गरी सडकको चौडाई अनुसार थप गरी नयाँ पुल बनाउने तयारी गरिएको बुझिएको छ । जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु निमार्ण गरिने भएको छ ।
यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ । यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरिसकेको छ । यी पुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ब्रिज ३२७ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाईको हुनेछन् । यसैगरी, यो सडकखण्डमा १० वटा आकाशेपुल र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ ।
६ लेनको सडक निर्माणका लागि ठेक्का प्रक्रियामा रहेकाले अब बन्ने सडकमा सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ । सहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ ।
जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुने डिजाइनमा छ । सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०/५.५० मिटरको निर्माण गरिनेछ । सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको हुनेछ । सहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।
सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने सर्त राखिएको छ। १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ ।
आयोजनाका अनुसार साइट क्लियर भएपछि सन २०२३ भित्रमा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ । आयोजनाका अनुसार यो सडक विस्तार कार्य सन २०२६ सम्ममा पूरा भएर संचालनमा आउनेछ । यस सडक परियोजनाबाट १२ देखि १५ लाख मानिसहरु लाभान्वित अध्ययनले देखाएको छ ।
सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ । यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ ।
यसैगरी यस आयोजनामा वन क्षेत्रबाट ४ हजार ३५३ र अन्य रोडसाइडबाट ८ हजार १९५ वटा रुख काट्नु पर्ने बताइएको छ । अहिलेसम्मकै खर्चिलो हुने अनुमान गरिएको यो सडक खण्ड निर्माणका लागि करीब ४६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।