मेचीनगर, असोज १२ ।
देशब्यापी रुपमा कोरोनाको संक्रमण बढीरहेको आँकडा सार्वजनिक भइरहेका बेला नेपालमा तेस्ता जिल्ला पनि छन जहाँ कोरोना संक्रमण छैन । बिगतमा भएका संक्रमितहरु संक्रमण मुक्त भए र नयाँ संक्रमित नभए पछि अहिले ती जिल्लाहरु संक्रमण मुक्त भएका छन ।
संक्रमण मुक्त भएका जिल्लाहरुमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यी जिल्लाहरुमा शुरुमा केही संक्रमित देखिएका थिए । तर अहिले सबै संक्रमण मुक्त भएर घर फर्किए र नयाँ संक्रमण देखा परेको छैन ।
त्यस्तै संक्रिय संक्रमित ५ जना भन्दा कम भएका जिल्लाहरु ९ वटा रहेका छन । संक्रमितहरु संक्रमण मुक्त हुँदै जाने र नयाँ संक्रमित थोरै मात्रै देखिन थालेकाले पनि ति जिल्लाहरुमा सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमित ५ जना भन्दा कम भएका जिल्लाहरुमा इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, खोटाङ रहेका छन । त्यस्तै मनाङ, म्याग्दी, बाजुरा र कालिकोट रहेका छन ।
त्यस्तै ५० भन्दा कम सक्रिय संक्रमित रहेका जिल्लाहरु ३७ वटा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ९ वटा जिल्लामा सक्रिय संक्रमित ५ भन्दा कम छन ।