मेचीनगर, चैत ६ । विर्तामोड युनाइटेड झापाले तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाण्डौँलाई २-० गोलअन्तरले पराजित गर्दै विर्तामोडले उपाधि रक्षा गरेको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि दिलाउन विर्तामोडका तर्फबाट सुशन राई र रमेश गुरुङले समान एक एक गोल गरे ।
काठमाण्डौँले पनि फाइनलमा गोल गर्न निकै अवशर पाएको थियो । तर गोल गर्न भने सकेन । शुसन राईको गोलबाट अग्रता लिएको विर्तामोडले पेनाल्टी मार्फत पुन: अर्को गोल गर्दै उपाधि कब्जा गर्यो । उपाधिसगैँ विर्तामोडले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको काठमाण्डौँले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
आजको फाइनल खेलका म्यान अफ द म्याच पनि विजेता टिमका बाबुलाल आस्था घोषित भएका छन् । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा उपविजेता फ्रिडम फाइटर काठमाण्डौँका श्यामबहादुर गुरुङ घोषित भएका छन् भने सर्वाधिक गोलकर्ताको उपाधि आयोजक समेत रहेको काँकरभिट्टा भेट्रान फुटबल क्लबका सुजन शाक्यले कब्जा गरेका छन् ।
प्रतियोगितामा ज्येष्ठ भेट्रान खेलाडीलाई समेत सम्मान गरिएको छ । जसमा डाउन टाउन दार्जिलीङ्गका राजन गोले तामाङ सम्मानित भएका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडिको अवार्ड काठमाण्डौँका राजकुमार घिसिङले प्राप्त गरेका छन् । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई फाइनल खेलका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, विशेष अतिथी मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतले उपाधि प्रदान गर्नुभएको आयोजक समितिका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले सेतोपत्रलाई जानकारी दिनुभयो ।
गत फागुन २७ गतेबाट शुरु भएको प्रतियोगिता आज समापन भएको हो । प्रतियोगितामा नेपाल तथा भारतका गरी १० टिमको सहभागिता रहेको थियो ।