झापा, चैत ५ । झापा लगायत देशभरका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नेतृत्वका लागि मतदान भैरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका केही बाहेकका देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा निर्वाचन भइरहेको हो । बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न चार बजेसम्म जारी रहनेछ । त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका कारण चुनाव स्थगित भएको छ । ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा करिब १४ वर्षपछि स्ववियु निर्वाचन भइरहेको छ ।
यता झापामा पनि१० वटा क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको छ । बिहान देखि पानी परेर मौसम चिसो भइरहेता पनि निर्वाचनमा बिद्यार्थिहरुको सहभागिता उल्लेख रहेको छ । जम्मा १३ वटा क्याम्पसमध्ये काँकडभिट्टा बहुमुखी क्याम्पसको निर्वाचन सरेको छ भने गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ । बिर्तामोड ८ को गरामनी क्याम्पसमा भने स्ववियु निर्विरोध भएको घोषणा भइसकेको छ । विवाद आएपछि काँकडभिट्टा बहुमुखी क्याम्पसको निर्वाचन चैत १० गतेका लागि निर्वाचन सारिएको छ भने गौरादह क्याम्पसमा स्थगित भएको निर्वाचन फेरी कहिले हुन्छ भन्ने टुंगो लागेको छैन ।
त्यसबाहेक झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई आदर्श क्याम्पस बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, दमक क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस, सीतारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पसमा स्ववियु निर्वाचन जारी रहेको हो ।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।